कटवाल जर्सापलाई खुला पत्र

66
  •  
  •  
  •  

हो, जर्साप, हजुर होइसिन्छ र यो मुलुक छ । हजुर होइसिन्छ र यो मुलुकमा लोकतन्त्र छ । हजुर होइसिन्नथ्यो भने यो मुलुक उहिल्यै खत्तम भइसक्थ्यो । हजुर होइसिन्नथ्यो भने लोकतन्त्र उहिल्यै मास छर्न गइसकेको हुन्थ्यो । हजुरको ‘हक्की स्वभाव, कडा मिजास र जोखिम मोल्ने तत्परता’का कारण मुलुक र मुलुकवासी नष्ट हुनबाट जोगिएका छन् । धन्यवाद जर्साप !

हालसालै बजारमा आएको हजुरको आत्मकथा पढेपछि मैले तŒवबोध गरेँ । सही हो, जर्साप, हजुर होइसिन्छ र हामी छौँ । हजुर होइसिन्छ र म छु ।
हजुरको आत्मकथा पढेपछि मैले सत्य जान्ने मौका पाएँ । म त असत्य र झुटको सघन अन्धकारमा रुमल्लिरहेको रहेछु । हजुर झुटो होइसिन्न, गलत होइसिन्न ।
‘ए जेनरल इज अल्वेज राइट । ही क्यान नेभर बी रङ ।’
(जर्नेल सधैँ सही हुन्छ । ऊ कहिल्यै गलत हुन सक्दैन ।)
हजुरले मेरा असंख्य भ्रमहरू निवारण गर्दिस्यो ।
मलाई लाग्थ्यो– जनयुद्ध (जसलाई हजुर तथाकथित भनिसिन्छ ) मूलतः युगौँदेखिको अन्यायविरुद्धको विष्फोट थियो । खास राजनीतिक सिद्धान्तले प्रेरित भएर (या गराइएर) हजारौँ नेपालीले परिवर्तनका पक्षमा जीवनको आहुति दिएका थिए । तर, जर्सापले मेरो यो भ्रमलाई निमिट्यान्न पार्दिस्यो । वान्स एन्ड फर अल । (सदाका लागि । )
मैले हजुरमार्फत थाहा पाएँ– उनीहरूले शोषण, अपमान र विषमताविरुद्ध बन्दुक उठाएकै होइनन् । उनीहरूको कुनै राजनीतिक विचारधारा थिएन, सिद्धान्त थिएन । चेतना थिएन, विवेक थिएन । ती गरिबका छोराछोरीलाई एक बारको जुनीमा रमाइलो गर्न मन लाग्यो, यसो केही उटपट्याङ गर्न मन लाग्यो र तिनीहरूले बन्दुक उठाए । युद्ध होइन, उनीहरू वनभोजमा सरिक थिए । द्वन्द्व होइन, उनीहरू रत्यौलीमा सरिक थिए । ती जो मरे, व्यक्तिगत रमाइलो र मोजमस्तीका लागि मरे । तिनलाई शहीद भनिनु पनि शहीद जातिकै अपमान हो । केही उरन्ठेउला व्यक्तिको बहकाउमा लागेर ज्यान फाल्नेलाई केको शहीदको पगरी ? जर्सापले आफ्नो किताबमा ठ्याक्कै यिनै वाक्य नलेखे पनि हजुरको आशय यही न हो ।

मलाई लाग्थ्यो– शाही नेपाली सेना निर्दयी थियो । त्यसका प्रमाणहरू पनि थिए । प्वाइन्ट ब्ल्यांक रेन्जमा बन्दी बनाइएका माओवादी लडाकु (जसका निम्ति हजुरको शब्दकोशमा आतंककारीबाहेक अर्काे शब्द छैन) लाई गोली हान्नु, खाल्डो खन्न लगाएर उनीहरूलाई जिउँदै पुर्नु आदि आदि । हजुरको आत्मकथा पढेपछि म सर्वथा नौलो सत्यसँग परिचित भएँ । शाही नेपाली सेना दया, माया र करुणाको प्रतिमूर्ति रहेछ । आफ्ना बाटो बिराएका भाइबहिनीप्रति यो हुनसम्म संवेदनशील भएको रहेछ ।
साँच्ची, जर्साप, भैरवनाथ गणलाई किन बित्थामा मानव बधशाला भने होलान् दुनियाँले ? जब कि त्यहाँ माओवादी आतंकारीहरूलाई सेनाले खिर खुवाएर पाल्थ्यो । दिनदिनै अत्तरमा डुबाउँथ्यो । बुट र बन्दुकका कुन्दाले मरणासन्न हुने गरी कुट्ने कुरा त दन्त्यकथा न हो । त्यहाँ त आतंककारीलाई फूलले मुसारिन्थ्यो । आत्मकथाको अर्काे भाग लेखिस्यो भने भैरवनाथ गणजस्तो मानवताको पवित्र मन्दिरमाथि सम्पूर्ण भक्तिभावले हजारौँ शब्दपुष्प अर्पण गर्न नबिर्सिबक्सेला ।
म ठान्दथेँ– जनयुद्धताका माओवादी फौजी रणनीतिअन्तर्गत लड्थ्यो । हजुरले पो मलाई छ्याङ्ङ पार्दिस्यो । माओवादीहरू त जाँड र ड्रग्सका भरमा लड्दा रहेछन् । जँड्याहा र ड्रगिस्टहरूले ब्यारेक हान्न सक्दा रहेछन् । चौकी हान्न सक्दा रहेछन् । जर्सापले युद्धताका बेपत्ता भएको छापामारको श्रीमतीलाई कुनै दिन भेटिस्यो भने भन्दिसेला, ‘तिम्रो श्रीमान्को जाँड उत्रेकै छैन । कतै मस्त भएर घुम्दै होला, नानी !’
आत्मकथामा हजुरले हेलिकप्टर उडाइदिँदा माओवादी लडाकूहरूको भागाभाग हुने सत्य प्रकट गरिसेको छ । यो देशको आकाशमा एकैचोटि दुई दर्जनजति हेलिकप्टर उडाइदिन पाएको भए जनयुद्ध त एकैदिनमा हुम फट स्वाहा हुने रहेछ । जर्सापजस्तो चतुर व्यक्तिको दिमागमा यो आइडिया फुर्नबाट कसरी चुकेछ ?
जर्सापले कसलाई हप्काइसेन ? कसलाई तह लाइसेन ? नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालासमेत तपाईंका अगाडि हुचीलको छाया प¥या’ बिरालोजस्तो हुन्थे । जनयुद्धका कमान्डर प्रचण्डलाई त हजुरले भित्तैमा पुग्नेगरी तह लाइस्यो । हजुरका डरले प्रचण्डले दर्जनौँ पटक अन्तरवस्त्र भिजाएको हुनुपर्छ । यस्ता जण्ड पुरुषहरूको यस्तो हालत थियो भने मन्त्री र सचिव नाथेहरू त हजुर भनेपछि थरहरी हुने नै भए । जर्सापले ‘ह्वाट द ब्लडी हेल इज गोइङ अन हेयर ?’ भनेर अंग्रेजीमा कड्केपछि सिंगो देश भयले निश्चल र स्तब्ध हुन्थ्यो । टोलेगुन्डाले आँखा त¥यो भने साताभरि सातो जाने मजस्तो निरीह मान्छेले हजुरको साहस, अभिमान र दम्भलाई जति सलाम गरे पनि कम हुन्छ ।
फेरि, जर्साप त जहिले पनि जर्सापै होइसिँदो रहेछ । बाल्यकालमा अरू बालक हुन्छन्, हजुर चाहिँ जर्सापै होइसिन्थ्यो । प्रेम गर्ने उमेरमा अरू प्रेमी हुन्छन्, हजुर चाहिँ जर्सापै होइसिन्थ्यो । हजुर जन्मजात जर्साप हो ।
हजुरलाई ‘रिटायर्ड जेनरल’ भन्न मलाई असहज लाग्छ । जर्सापले एउटा चुट्किला सुनिस्या छ ? एकजना यात्री कुनै ठाउँ पुग्न चाहँदो रहेछ । उसलाई बाटो थाहा रहेनछ । स्थानीयलाई उसले बाटो सोधेछ । ‘त्यहाँ पुग्ने दुइटा बाटा छन्,’ स्थानीयले यात्रीलाई भनेछ, ‘पहिलो बाटोमा बाघ–भालु, सर्प–बिच्छी लाग्छन् । त्यो बाटो असाध्यै डरलाग्दो छ । र, दोस्रो बाटोमा रिटायर्ड जेनरलहरू भेटिन्छन् ।’ यात्रीले एकछिन यसो सोचेछ र भनेछ, ‘म पहिलो बाटो जान्छु ।’नागरिकबाट


  •  
  •  
  •