काठमाडौं २ असार (ओएनएस) : तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र परिवारको चल अचल सम्पत्ति नेपाल ट्रस्टलेसार्वजनिक गरेको छ । हालसम्म चल सम्पत्तिका रुपमा स्वदेशमा नगण्य रुपमा मात्रै रकम मात्र प्राप्त भएको र बैंक तथा होटल र नेपाल औद्योगिक विकास निगमको केही सेयर फेला परेको ट्रस्टले जानकारी दिएको छ । ट्रस्टका सचिव श्रीधर गौतमले वीरेन्द्रको परिवारको नाउँमा नेपाल र विदेशमा ठूलो धनराशि हुनुपर्ने जनअपेक्षा भएपनि त्यसो नभेटिएको बताए । वीरेन्द्रको परिवारको नाउँमा चल सम्पत्तिका रुपमा स्वदेशमा करिब चार हजार ५४५ बेलायती पाउन्ड र १० हजार नेपाली रुपैयाँ मात्र प्राप्त भएको, नविल बैंक लिको एक लाख ४४ हजार ४७२ कित्ता, नेपाल औद्योगिक विकास निगमको छ हजार ७५० कित्ता तथा होटल अन्नपूर्णको ३० हजार ७२० कित्ता सेयर प्राप्त भएको छ ।
विसं २०६४ देखि २०७१ वैशाखसम्म भाडाबाट करिब २४ करोड ७९ लाख उठेको रकम ट्रस्टको कोषमा रहेको र सम्पत्ति खोजबिनकै क्रममा काठमाडौँ दरबारमार्गस्थित होटल अन्नपूर्णको गत जेठ २८ गतेसम्म १५ हजार ३६८ कित्ता सेयर तथा सो सेयरबापतको कबिर रु दुई लाख ३० हजार नगद लाभांश प्राप्त भएको उल्लेख छ । यसैगरी अचल सम्पत्तिको हकमा गत वर्ष करिब छ हजार २४४ रोपनी जग्गा प्राप्त भएको र सोमध्ये पोखरा, चितवन, काठमाडौँ, हेटौंडा आदि ठाउँमा बङ्गला तथा भवन संरचना छ ।
सचिव गौतमले सम्पत्ति खोजबिनका क्रममा यस वर्ष ‘सघन सम्पत्ति खोजबिन कार्यक्रम’ सञ्चालन गरेर कार्यालयबाटै चार÷पाँच जना कर्मचारी खटाई धादिङ जिल्लामा करिब १५ हजार १०१ रोपनी, नुवाकोटमा करिब १७२ रोपनी दुई आना , काठमाडौँमा करिब ११ हजार ३२५ रोपनी तथा सिन्धुपाल्चोकमा करिब २७ रोपनी गरी करिब २६ हजार ६२६ रोपनी जग्गा फेला परेको बताए । वीरेन्द्र र उनको परिवारको नेपालमा रहेको अचल सम्पत्ति केही प्राप्त भएको र खोजबिन अझै जारी रहेको उल्लेख गर्दै उहाँले विदेशी सम्पत्ति खोजबिन सम्बन्धमा विभिन्न मुलुकको बैंक तथा अन्य निकायमा नेपाल राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयमार्फत खोजी गर्दा हालसम्म कुनै चल तथा अचल सम्पत्ति प्राप्त हुन नसकेको ट्रस्टले जनाएको छ ।