म्याग्दीको बगरफाँटमा पहिरो

240
  •  
  •  
  •  

म्याग्दी, २५ साउन : म्याग्दीको बेनी नगरपालिका वडा नं ४ बगरफाँटमाथिको भीरबाट तीन दिनअघिदेखि रोकिएको पहिरो शनिबार रातिदेखि पुनः खस्न थालेपछि बगरफाँटका बासिन्दा त्रसित बनेका छन् । भकिम्ली गाविस वडा नं ९ तोराखेतको झाँक्रीस्थानबाट खसेको पहिरोले बगरफाँटको पूरै गाउँ नै जोखिममा परेको छ भने बगरफाँट सामुदायिक वन र सिँचाइ कुलोलाई ठूलो क्षति पु¥याएको छ ।

गत आइतबारदेखि लगातार बुधबारसम्म खसेको पहिरो बिहीबार र शुक्रबार थामिएपछि केही राहतको महसुस गरेका बगरफाँटवासी शनिबार रातिदेखि पुनः खस्न थालेपछि त्रसित बनेका स्थानीय टीकाबहादुर कार्कीले बताए । पहिरोका कारण दूधेखोला–बगरफाँटको सिँचाइ कुलो पुरिएको पनि कार्कीले बताउनुभयो । बगरफाँट सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर घिमिरेले पहिरोका कारण सामुदायिक वनमा ठूलो क्षति पुगेको बताए ।

शनिबार बेलुकीपख परेको सिमसिमे पानीका कारण पहिरो चलेको स्थानीयवासीले बताएका छन् । तीन दिनसम्म चर्को घाम लागेको र त्यसपछि पानी परेका कारण चर्केको जमिनको भाग खसेको तोराखेतका दुर्गाबहादुर सापकोटाले जानकारी दिए । सापकोटाले दिएको जानकारीअनुसार तोराखेतको झाँक्रीस्थानदेखि माथि र भकुण्डे–ताराखेत–भकिम्ली मोटरबाटोदेखि तलको करिब ३०० हेक्टर जमिन चर्केर धाँजाधाँजा भएको छ ।


  •  
  •  
  •