‘भूमिमा अधिकार नपाएसम्म आन्दोलन रोकिन्न’

83
  •  
  •  
  •  

सप्तरी, ९ असोज (ओएनएस) भूमिहीनहरुले भूमिमा अधिकार नपाएसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन् । नयाँ संविधानमा भूमिअधिकार ग्यारेण्टी गर्न माग गर्दै सप्तरीमा गरिएको सभामा उनीहरुले भूमिसुधारको ग्यारेण्टी नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका हुन् ।
संविधानमा भूमिअधिकार ग्यारेण्टी गर्न माग गर्दै राष्ट्रिय भूमिअधिकार मञ्चले गरेको दवाब अभियान अन्तर्गत सप्तरीमा भएको सभामा भूमिहीनहरुले अझै पनि आफुहरुको हक सुनिश्चित गर्न दलहरु गम्भिर नभएको गुनासो गरे ।
कार्यक्रममा प्रमुख अतिथि मञ्चकी केन्द्रीय अध्यक्ष गुलाबदेबी रामले प्रकृतिले दिएको भूमिमा समान अधिकार हुनुपर्ने बताइन् । उनले भूमिहीनहरुको पहिचान गरी यो समस्या समाधान गर्ने गरी संविधानमा व्यवस्था गर्न माग गर्दै त्यसो नगरिए आन्दोलन जारी राख्ने चेतावनी दिइन् ।
यस्तै मञ्चका संरक्षक बलदेब रामले वर्षौदेखि भूमिहीनको समस्या समाधान नभएको भन्दै अब बन्ने संविधानमा यसको व्यवस्था हुनुपर्ने माग गरे ।
कार्यक्रममा सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष मुरारी कार्कीले असोज २५ गते देखि सुकुम्बासीहरुको निबेदन संकलन गर्ने जानकारी दिदै त्यसमा भूमिहीन सुकुम्बासी र मञ्चले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य विसेन्द्र यादव, एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य अरविन्द्र यादव, नेकपा—माओवादीका जिल्ला सदस्य रामगगन साह लगायत विभिन्न दलका प्रतिनिधिहरुले पनि धारणा राखेका थिए ।
उनीहरुले आफुहरुले उठाउनुपर्ने विषयलाई राष्ट्रिय भूमिअधिकार मञ्चले उठाएकोमा धन्यवाद दिदै यसमा आफुहरुको पनि पूर्ण समर्थन र सहभागिता रहेको बताए । उनीहरुले आफुहरु भूमिहीनको पक्षमा नै रहेको भन्दै नयाँ बन्ने संविधानमा भूमिसुधारको ग्यारेण्टी गर्न आफुहरुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
सहभागी भूमिहीनका प्रतिनिधिहरुले अब बन्ने संविधानमा भूमिसुधारको व्यवस्था नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।


  •  
  •  
  •