शिवगढीमा ल्याण्ड फिल्ड बनाए आन्दोलन गर्ने चेतावनी

107
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ (ओएनएस) : शिवगढी ५२ विघा क्षेत्र संरक्षण समितिले धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल शिवगढी ५२ विघामा ल्याण्ड फिल्ड साईट निर्माण नगर्न सरकारलाई चेतावनी दिएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले स्थानीय जनतासँग कुनै छलफल नै नगरी ऐतिहासिक महत्व बोकेको स्थान शिवगढी ५२ विघामा ल्याण्ड फिल्ड साईट निर्माण गर्न नहुने धारणा राखेको छ । समितिका अध्यक्ष उमेश यादवले सवै हिसावले ऐतिहासिक एवम साँस्कृतिक महत्व बोकेको धरोहरको अस्तित्व नै समाप्त पार्ने गरि कोही कसैबाट पनि ल्याण्ड फिल्ड साईट बनाउने दुष्साहस भए आफूहरु त्यसको विरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिए ।

त्यस्तै समितिका सचिव नरेश यादवले पनि शिवगढी ५२ विघा परिसरलाई संरक्षण गर्नुपर्ने भन्दै उक्त पवित्र क्षेत्रमा ल्याण्ड फिल्ड साईट बनाएर हिन्दू धर्म संस्कृतिलाई समाप्त पार्ने कार्य कोही कसैबाट भए आफूहरु त्यसको विरुद्धमा शसक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
यादवले भने–ऐतिहासिक महत्वको स्थानमा फोहोर मैला थोपरेर हाम्रो हिन्दू संस्कृतिको अस्तित्व समाप्त पार्ने कामको हामी घोर विरोध गछौं । यदि प्रशासक तथा राजनीतिज्ञबाट त्यस्तो दुष्साहस भए हामी त्यसको सशक्त प्रतिकारमा उत्रन बाध्य हुनेछौं ।

समितिले पहिले सरकारले धनुषा जिल्लाकै फुलगामाको मनियारी भन्ने ठाउँमा ल्याण्ड फिल्ड बनाउने निर्णय गरेको जानकारी दिँदै एक्कासी कसैकोे दबाबमा विना अनुशन्धान स्थानीय वासिन्दाहरुसँग कुनै छलफल नै नगरी शिवगढी ५२ विघामा ल्याण्ड फिल्ड साईट बनाउने काम गर्न लागेकोले विरोध गरेको हो ।


  •  
  •  
  •