लमजुङको भलामचौरमा होमस्टे

859
  •  
  •  
  •  

बेसीसहर, ११ मंसिर(ओएनएस) । लमजुङको मस्र्याङ्दी गाउँपालिका ९ भलामचौरका १० घरमा होमस्टे सञ्चालनमा ल्याइएको छ ।

चक्रीय अन्नपूर्ण पदमार्गको खुदी नजिकै गोपालडाँडादेखि घलेगाउँ जाने बाटैमा पर्ने भलामचौरका स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन् । सदरमुकाम बेसीसहरदेखि गोपालडाँडा करीब ६ किलोमिटर उत्तरमा पर्छ ।

गत भदौमा ७ सदस्यीय होमस्टे व्यवस्थापन समिति गठन गरिएको थियो । मस्र्याङ्दी नदीमाथि देखिने मनास्लु, डा. हर्क हिमालले सुन्दरता थपेको भलामचौरका बासिन्दाले ग्रामीण पर्यटन प्रवद्र्धन गर्न होमस्टे सञ्चालनमा ल्याएको भलामचौर होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लुकुमारी गुरुङले बताइन् ।

गाउँका ५ घरमा थप होमस्टेको तयारी गरिएको उनको भनाइ छ ।

उनले भनिन्, ‘मैले सानोतिनो होटलजस्तो चलाएर पाहुना राख्दै आएको थिएँ । गाउँले सवैलाई फाइदा पुग्ने खालको काम गर्नुपर्छ भनेर गाउँलेलाई जुटाएर होमस्टे अघि बढाए ।’

सुन्दर गाउँ भएकाले पर्यटकले रुचाएको र परम्परागत खेतीसंगै होमस्टे संचालमा ल्याएको उनले बताइन् ।

के छ प्याकेज ?

उनीहरुले प्याकेजको एकजना बराबर ७ सय रुपैयाँ लिने गरेका छन् । सादा खाना दुईसय, लोकल कुखुराको मासु, खाना तीनसय ५०, एउटा वेडको एकसय ५० र बिहानको नास्ता गरी ७ सय रुपयाँमा एकजनालाई एकरात होमस्टेमा बास बस्ने व्यवस्था मिलाइएको छ ।

स्वागतमा दिइने खाजा प्याकेजमा पर्छ भने बाँकी थप खाएमा थप तिर्नुपर्ने उनीहरु बताउँछन् । समितिका सचिव तेजबहादुर गुरुङले पाहुनालाई सुताउने कोठा, शौचालय, नुआउने कोठा सबै तयार रहेको बताए ।
नुहाउने कोठा केहीका घरमा निर्माण हुन बाँकी छ ।

नजिकै म्रिचे गाउँसमेत गरी ८३ घरधुरी रहेको भलामचौरका होमस्टे संचालन गरिएका १० घर र तयारीका ५ घरमा सोलारबत्ती जडान गरिएको छ ।

विजुली गएको समयमा पनि पर्यटकलाई असुविधा नपुगोस भनी मस्र्याङदी गाउँपालिकाको सहयोगमा सोलार जडान गरिएको उनीहरुले बताएका छन् ।

४ वटा घरमा फ्रि–वाइफाई जडान गरिएको र यसबाट सवै होमस्टेमा सुविधा पुगेको होमस्टे संचालक रत्नबहादुर गुरुङले बताए ।

हरेक घरमा कम्तीमा २ जनादेखि बढीमा ४ जनासम्म बास बस्न मिल्ने गरी व्यवस्थापन गरिएको उनले बताए ।

गाउँपालिकाको सहयोगमा स्थानीयले कास्कीको ल्वाङ गाउँमा गएर होमस्टे सञ्चालन गर्ने तरिकाका विषयमा तालिम समेत लिएका छन् ।

बाइसे–चौबिसे राज्य हुँदा गाउँ पारीको गढीडाँडामा राजाको थलो रहेको स्थानीयहरु बताउँछन् । गाउँमा आउने पर्यटकलाई गाउँमै उत्पादन गरेको खाना खुवाउने गरेको स्थानीय चन्द्रमाया घले बताउँछिन् ।

उनले भनिन्, ‘ हामीले गाउँमै पालिएको गाईभैंसीको दूधदही तथा घ्यु, गाउँमै उत्पादित धान, मकै, कोदोको परिकार, गोबर मल प्रयोग गरेर फलाइएको तरकारी, मासको दाल, कोदोको मदिरा, लोकल कुखुराको मासु लगायत परिकार खुवाउने गरेका छौं ।’

स्थानीय रितुमाया गुरुङले गाउँमा पाहुना आउने जानकारी पाउनेवित्तिकै बाटोसम्म लिने जाने गरिएको बताइन् । ‘आउँदा नमस्कार गर्दै गाउँसम्म भित्र्याउँछौ । चाहे अनुसार खाजा÷खाना खुवाउँछौं । फर्कने बेला सेतो चामल, दहि मिसिएको टिका र फूलमाला लगाएर विदाई गर्छौं । यो हाम्रो चलन हो’ उनले भनिन् ।

गाउँमा आउने पर्यटकलाई झ्याउरे, कृष्णचरित्र, आमा समूहको पौराणिक नाच लगायत देखाउने गरिएको उनको भनाइ छ ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले आर्थिक वर्ष २०७५/०७६ मा भलामचौर होमस्टेका लागि २ लाख रुपयाँ बजेट बिनियोजन गरेको बताउँछन् ।


  •  
  •  
  •