लमजुङको दोर्दीखोलामा बाढी, चारजनाको शव भेटियो(अपडेट)

845
  •  
  •  
  •  

लमजुङ । लमजुङको दोर्दीखोलामा बुधबार अपरान्ह आएको बाढीले चार जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी सम्पर्क विहिन छन् ।

दोर्दी गाउँपालिकाको वडा नं. ४ सेरापुल नजिकै दुई जनाको शव फेला परेको हो भने किर्तीपुर भन्ने ठाउँमा थप दुईजनाको शव फेला परेको हो ।

उनीहरुको पहिचान हुन नसकेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । मनास्लु हिमाल काखबाट बगेको नदिमा मुहान वरपर पहिरो चलेका कारण बाढी आएको स्थानीको अनुमान छ ।

दोर्दी वडा नं. ६ ताँजेमा रहेको ५४ मेगावाट क्षमताको सुप्पर दोर्दी जलविद्युत आयोजनाको टनेलमा बाढी पस्दा ३ जना बेपत्ता भएका छन् ।

टनेल भित्र बाढी पसेपछि फसेका १७ मजदुर मध्ये १४ जनाको सकुशल उद्दार गरिएको आयोजनाका प्रवद्र्धक केशव रायमाझीले जानकारी दिए ।

उनका अनुसार हराइरहेका ३ मजदुरको खोजी भईरहेको छ । बाढीले आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटर लगायतका सामाग्री बगाएको रायमाझीले बताए ।

यसैगरी बाढीमा परी लिवर्टी ईनर्जी पावर कम्पनीद्धारा प्रबद्र्धित दोर्दी जलविद्युत आयोजनाका कार्यरत १५ भन्दा बढि मजदुरहरु पनि हराइरहेका छन् । आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले आफ्नो जलविद्युत आयोजनामा कतिजना मजदुर हराएका छन भन्ने एकिन जानकारी नै पाउन नसकेको बताए ।

आयोजनाको बाँध क्षेत्र निर्माणको क्रममा खोला नजिकै आवास बनाएर बसेका मजदुरहरुलाई बाढीले बगाएको हो ।
बाढीले वितण्डा मच्चाएपछि सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्राई, डिएसपी रविन्द्रमान गुरुङ, प्रहरी निरीक्षक बसन्त पाण्डे सहतिको टोली घटनास्थल जाँदैछ । थप विवरण आउन बाँकी छ ।

तस्बिरः खेम गुरुङको फेसबुकबाट


  •  
  •  
  •