लमजुङ उद्योग वाणिज्य संघको निर्वाचनमा झडपः प्रहरी निरीक्षकसहित पाँच घाइते

182
  •  
  •  
  •  


लमजुङ । लमजुङ उद्योग वाणिज्य संघको निर्वाचनामा दुई पक्षबीच झडप भएको छ । प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीच शनिबार झडप भएको हो । झडपमा प्रहरी निरीक्षकसहित पाँचजना घाइते भएका छन् ।
मतगणनाको तयारी भइरहेको समयमा मतगणनास्थल जिल्ला समन्वय समितिको गेटबाहिर  प्रगतिशील समूहका सुरेश श्रेष्ठ र लोकतान्त्रिक समूहका शंकर न्यौपानेबीच राति साढे १० बजे विवाद हुँदा झडप भएको हो ।

श्रेष्ठले न्यौपानेमाथि हेल्मेट प्रहार गरेकाे आरोप लागेको छ । मतगणना स्थल गेटभित्रबाट बाहिरसम्म झडप भएपछि छुट्याउने क्रममा युवाले प्रहार गरेको ढुङ्गा लागेर प्रहरी निरीक्षक ओमप्रकाश पुन र हवल्दार प्रेमबहादुर थापा घाइते भएका छन् । उनीहरु जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरीका अनुसार लोकतान्त्रिक समूह समर्थित बेंसीसहर नगरपालिका ८ का शंकर न्यौपाने, बेंसीसहर ननगरपालिका–३ का विष्णु पौडेल र बेंसीसहर नगरपालिका २ का कृष्ण भुजेल घाइते भएका छन् । उनीहरुलाई प्रगतिशील समूह समर्थित युवाले आक्रमण गरेको लोकतान्त्रिक समूहले आरोप लगाएको छ ।

प्रहरीले न्यौपानेलाई हेल्मेटले हिर्काएको आरोपमा प्रगतिशील समर्थित बेंसीसहर नगरपालिका ७ का सुरेश श्रेष्ठ र प्रहरीलाई ढुंगाले हिर्काएको आरोपमा सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

झडपसँगै मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बैठक बसेर घटना र मतगणनाको विषयमा छलफल गरी निर्णय गरिने बताएका छन् । बैठकमा दुवै पक्षलाई बोलाइएको उनले बताए ।


  •  
  •  
  •