लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको हत्याको आरोपमा दुई युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले शुक्रबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै दुई युवालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सोही नगरपालिका वडा नं ३ स्वाराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा पक्राउ गरिएको छ । सागरको नाताले काकी पर्ने धनमायासँग केही महिनादेखि अनैतिक सम्बन्ध रहँदै आएको र गाउँका बासिन्दाले धनमाया गर्भवती रहेको हल्ला गरेपछि उक्त घटना लुकाउन तथा आफैँले व्यहोर्नुपर्छ भन्ने ठानेर हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । सागरले उक्त घटना लुकाउनका लागि साथी विकाससँग सबै कुरा सल्लाह गरेको र गत मङ्सिर ३० गते बेलुका सागरको घरमा दुवै जनासँगै सुतेर बिहान साढे ५ः०० बजे गएर युवती रहेको कोठामै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
दुवै युवालाई शुक्रबार नै जिल्ला अदालत लगेर १५ दिनको म्याद थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मृतक महिलाको बिहीबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ भने रिपोर्ट आइनसकेकाले गर्भवती भए नभएको खुली सकेको छैन् । महिलाका श्रीमान् धुव्र भुजेलले शुक्रबार किटानी जाहेरी दिएका छन् ।
यो पनि हेर्नुहोस्