लमजुङमा १९ लाख बढी मूल्य बराबरको अवैध जडीबुटीसहित पाँच जना पक्राउ

176
  •  
  •  
  •  

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडीबुटीसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

बेशीसहर नगरपालिका– ८ नारायणस्थानबाट तीनजना र झिँगेखोलाबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

अवैध रूपमा जडीबुटी लिई मनाङबाट बेसीसहर हुँदै काठमाडौं जादै गरेको ग.१ज ७४५३ नम्बरको पिकअप बोलेरो जिपमा लुकाइछिपाई राखेको अवस्थामा जटामसी, बुकीफूल, धुपीपात, सुनपाती र भोजपत्र गरी दुई सय १५ केजी अवैध जडीबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै झिँगेखोलाको दुई घरबाट पाँचऔँले, निरमसी, मजिठो, पिप्ला, सतुवा, जटामसी, ढालिङ र कुड्की गरी चार सय ८२.५ र आठ किलो अवैध जडीबुटी बरामद गरिएको छ ।

पक्राउ पर्नेमा दोर्दी गाउँपालिका– ८ का ३१ वर्षका जिपचालक कर्ण गुरुङ, जडीबुटी ओसारपसार कार्यमा संलग्न मनाङ नारफु गाउँपालिका– २ का ४५ वर्षका लाम्पाछिरिङ लामा र मनाङ ङिस्याङ गाउँपालिका– ३ का २९ वर्षकी पल्मु लामा रहेका छन् ।

यस्तै, बेसीसहर नगरपालिका– ८ झिँगेखोलाबाट ४४ वर्षकी शान्ताकुमारी तामाङ र ४६ वर्षका मीनबहादुर तामाङ पनि पक्राउ परेका छन् ।

पाँचजनाबाट बरामद गरिएको ७०५.५ किलो जडीबुटीको रकम अनुमानित १९ लाख ३२ हजार दुई सय ९० रुपैयाँ रहेको छ । पक्राउ परेका पाँचजनालाई आइतबार नै कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।


  •  
  •  
  •