लमजुङ, कास्की र म्याग्दीमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु, ९ घाइते, ७ बेपत्ता

770
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशको लमजुङ, कास्की र म्याग्दीमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते र ७ जना वेपत्ता भएका छन् ।

लमजुङमा बिहीबार राति परेको अविरल वर्षाले पहिरो जाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

बेसीशहर नगरपालिका–१०, खाँचे घर भई हाल बेसीशहर नगरपालिका वडा नं. ७ सातबेसीमा बस्दै आएका दिपक तामाङको घर पहिरोले पुरिँएकाे हाे ।

पहिरोमा पुरिँदा अन्दाजी ३० वर्षीय तामाङ, उनकाे श्रीमती २६ वर्षीया विमाया तामाङ र ८ वर्षका छोरा छेवाङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

उनीहरुलाई राति नै उद्धार गरी  लमजुङ जिल्ला सामुदायिक अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही पहिरोमा २६ वर्षीय सन्त बहादुर गुरुङ, बेसीशहर नगरपालिका वडा नं.१० का २३ वर्षीय अनिल गुरुङ र २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरुको जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।

यसैबीच कास्कीमा पहिरोले घर पुरिँदा ४ जनाको ज्यान गएको छ । पोखरामा ३ जना र हेम्जामा १  जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका १८ गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिँदा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

शुक्रबार बिहान ३ बजेतिर पहिरो जाँदा ३ जनाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
मृतकको परिचय खुल्न बाँकी छ । घाइतेकाे पोखराको मणिपाल अस्पताल र पश्चिमाञ्चल अस्पतालमा  उपचार भइरहेकाे छ ।

यस्तै पोखराकै हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोले पुरिँदा उनको आमा हिमकलीको ज्यान गएको छ ।

यसैबीच म्याग्दीको धौलागिरी गाउँपालिका ६ रिखामा पहिरोले घर बगाउँदा २ परिवारका ७ जना बेपत्ता भएका छन् ।

घण्टीवाङबाट पहिरो खसेर भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाएको हो । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना बस्दै आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

भारी बर्षा मापन

पछिल्लो ६ घण्टामा गण्डकी प्रदेशसहितका प्रदेशहरुमा भारी बर्षाको मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेश, प्रदेश २, प्रदेश ५ को धेरै स्थानमा भारी बर्षा मापन, अर्को ६ घण्टा पनि प्रदेश ५ को, २, र १ को तराईको धरै स्थानमा मध्यम–भारी बर्षा हुन सक्ने ‍पूर्वानुमान गरिएको छ ।

महाशाखाले नारायणी जलाधारको नवलपरासी, चितवन, तनहूँ, कास्की, गोरखा, लमजुङ, स्याङजा, पर्वत, गुल्मी र आसपास २४ घण्टामा भारी बर्षा मापन गरिएकाले सतर्क हुन आग्रह गरेको छ ।


  •  
  •  
  •