पाँचसय घर परिवारलाई लालपूर्जा

544
  •  
  •  
  •  

रुपन्देही । बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा करिब पाँच सय घरपरिवारलाई लालपूर्जा वितरण गरेको छ ।
साविकको मोतिपुर र सेमलार गाविसका विभिन्न टोलमा गाउँब्लकका घर जग्गाको लालपूर्जा वितरण गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

प्रमुख सुवेदीले उपप्रमुख र कार्यपालिका सदस्यहरु समेतको टोली लिएर मोतिरका स्थानीय ज्येष्ठ नागरिक जगन्नाथ ढकाल र उनका दुई भाईलाई लालपुर्जा वितरण गर्दै घरघरमै पुगेर लालपूर्जा वितरण गर्ने कार्यक्रमको शुभारम्भ गरेका थिए ।

२०२७ सालमा पाउनुपर्ने लालपूर्जा अहिलेसम्म नपाएको बताउँदै समस्या समाधानका लागि अहिले सरकारले यस्तो प्रक्रिया अगाडि बढाएको प्रमुख सुवेदीले बताए ।

जग्गाधनी प्रमाणपत्र पाएकोमा जग्गाधनीलाई बधाइ दिँदै औद्योगिक करिडोर र आसपासमा रहेका सबै अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउने गरि काम तीब्र पारिएको जानकारी दिए ।

‘बल्ल ढुक्क भइयो’ लामोसमय शिक्षण पेशा गरेका स्थानीय ज्येष्ठ नागरिक हरिप्रसाद ढकालले बैंकमा धितो राखेर अरु केही पेशा व्यवसाय गरौं भन्ने छोरालाई आलटाल होइन पूर्जा नै थमाउन पाएको भन्दै खुशी व्यक्त गरे । जति नै जग्गा भएपनि स्वामित्व पाउन नसक्दा निराशा लाग्ने अवस्थाको अब अन्त्य भएको उनको भनाइ छ ।

‘संघीय र प्रदेश सरकारले आयोग बनाएर काम अगाडि बढाइहाल्ने भनेका छन् चाँडो भयो भने ठीकै छ, होइन भने कित्ता नं दिएर बहाल बिटौरीकै रुपमा चलाउने बारे उपमहानगरमा छलफल हुन्छ’ प्रमुख सुवेदीको भनाइ छ ।
सेमलार, मोतिपुर, रानिगञ्ज, पोखराबारी तथा मनोहरापुर क्षेत्रमा गरी चार सय जना धरैलाई लालपुर्जा वितरण गरिएको हो । फिल्डमै पुगेर जग्गाधनीका हातमै लालपूर्जा उपलव्ध गराइएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

वडा नं १७, १८ र १९ का वडाध्यक्षहरु सन्तबहादुर राना, हुमनाथ आचार्य र खिमबहादुर खत्रीसहितका जनप्रतिनिधिहरुको रोहवरमा नापी कार्यालयका पदाधिकारीले जग्गाको लगतका बारेमा अध्ययन गरेका थिए ।
लामो समयदेखि जोतभोग गरेपनि स्वामित्व आफुहरुको नहुँदा बहुउपयोगका काम हुन नसकेको भन्दै त्यसक्षेत्रका बासिन्दाहरुले गुनासो गरेका थिए ।

सोही गुनासाका आधारमा जनप्रतिनिधिले कैयांैंपटक नापी र मालपोतका अधिकारीलाई फिल्डमा अध्ययनका लागि बोलाएको मोतिपुरका अगुवा तथा बुटवल उपमहानगरपालिकाका वडा सदस्य गोपाल नेपालले बताए ।

रुपन्देहीमा मात्रै आँकडा अनुसार यो खाले समस्याका करिब दुई हजार दुईसय जति लालपुर्जा तयार भइरहेको र सँगसँगै वितरण पनि भइरहेको नापी कार्यालयका अमिन लक्ष्मण गिरीले जानकारी दिए । समस्या समाधानका लागि बुटवलको विशेष पहल गरेर सहज बनाएको अमिन गिरीले बताए ।

अरु बाँकी समस्याको समाधानका लागि पनि छलफल भइरहेको बताइएको छ । बुटवलले अव्यवस्थित बसोबासी र सुकुम्बासीका अलग अलग तथ्यांक संकलन गरिरहेको छ ।

अव्यवस्थित बसोबासीको पहिलो चरणको तथ्यांक संकलनका काम पूरा भइसकेको र तिनको कागजातका बारेमा अध्ययन भइरहेको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।

सार्वजनिक जग्गाको विवरण सबै वडामा
बुटवल उपमहानगरपालिकासहित रुपन्देहीका १६ वटै पालिकाका सबै वडाहरुमा जिल्ला नापी कार्यालयले सार्वजनिक जग्गा यकिन गरेर विवरण पठाएको छ ।

विवरण अनुसार बुटवलका सबै वडामा प्राविधिकसहितको टोली खटाएर थप विवरण अद्यावधिक गर्ने काम भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

नापी कार्यालयले यकिन गरी पठाएको र यहाँ भएको विवरणलाई भिडाएर हेर्ने र थप सोधखोजसमेत गरिएको शर्माले बताए ।

बुटवलसहित यहाँका सबै स्थानीय तहमा सार्वजनिक जग्गाको लगत संकलन गरेर पठाइसकेको नापी कार्यालयले जनाएको छ । नापी अधिकृत शालिकराम लम्सालका अनुसार कहाँ सार्वजनिक बाटो छ, कहाँ खाली जग्गा छ, कहाँ इनार, पोखरी र कुलो छ, कहाँ कुन प्रकृतिको सार्वजनिक जग्गा रहेको छ भनेर सबै खुलाएर सम्बन्धित पालिकामा पठाइ सकिएको छ ।


  •  
  •  
  •