ललितपुर विशालबजारको भ्रष्टाचार छानबिन गर्न सर्वोच्चको आदेश

237
  •  
  •  
  •  

supreme-court-nepal-1काठमाडौँ, २८ बैशाख(ओएनस) : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ललितपुर विशाल बजारको भ्रष्टाचार प्रकरणमा पनि मुद्दा चलाउन बाटो खोलिदिएको छ । १० वर्षअघिको उक्त भ्रष्टाचार प्रकरणमा अख्तियारले छानबिन गर्न खोज्दा ०६३ मा विशाल बजार कम्पनीका तत्कालीन सञ्चालकहरु सर्वोच्चमा रिट दायर गर्न पुगेका थिए ।

यससम्बन्धी मुद्दा विचाराधीन भएकाले अख्तियारले फाइल अगाडि बढाएको थिएन । यससम्बन्धी फैसलाको पूर्ण पाठ भर्खर मात्र आएको छ । सर्वोच्चबाट फैसला तथा मिसिल प्राप्त हुनेबित्तिकै भ्रष्टाचारसम्बन्धी फाइल अघि बढ्ने अख्तियारका अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

तत्कालीन सञ्चालक समितिका अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ, भरतलाल श्रेष्ठ, विजय बानियाँ, गिरिधारीलाल अग्रवाल, निर्मल धानुका, भवानीराज पाण्डे लगायतविरुद्ध भ्रष्टाचार मुद्दा चल्ने भएको छ । यीमध्ये भरतलाल श्रेष्ठ र विश्वम्भरलाल अग्रवालको मुद्दा लड्दा लड्दै मृत्यु भइसकेको छ । तर, भ्रष्टाचारमा मृतकविरुद्द पनि मुद्दा चलाउन सकिने कानुनी प्रावधान छ । अदालतबाट भ्रष्टाचार ठहर भएमा कैद सजाय मिनाहा हुन्छ । तर, सम्पत्ति भने जफत हुन्छ र जरिवाना पनि भराउने कानुनी व्यवस्था छ ।

अख्तियारको अधिकार क्षेत्रबारे सर्वोच्चका न्यायाधीशद्वय गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासबाट गत २६ जेठमा भएको फैसलाको पूर्ण पाठमा स्पष्ट पारिएको छ । अख्तियारले कम्पनीबाट भएका कामकारवाहीहरुको सम्बन्धमा क्षेत्राधिकार ग्रहण गर्न सक्ने र सो सम्बन्धमा देखिएका अनियमिता वा भ्रष्टाचारका विषयमा अनुसन्धान तहकिकात गर्न वा कुनै उपयुक्त आदेश, निर्देशन दिन सक्ने सर्वोच्चको ठहर छ ।

ललितपुर विशालबजारमा नेपाल सरकारको समेत स्वामित्व र सरोकार रहेको, उक्त सम्पत्ति बिक्री गर्दा नेपाल सरकारलाई जानकारी नदिई ५१ प्रतिशत सेयर बिक्री गरेको उल्लेख गर्दै सर्वोच्चको फैसलामा अख्तियारबाट दिइएको निर्देशन र प्रारम्भ भएको अनुन्धानको कारवाही कानुनप्रतिकूल नभएको कुरा फैसलामा उल्लेख छ ।

उक्त कम्पनी बेच्दा सञ्चालकहरुले कम्पनीलाई हानिनोक्सानी पुर्‍याउने नियतले कम रकममा बिक्री गरेको देखाएर बढी रकम असुलेको अनुमान अख्तियारको छ । ११० रुपियाँ प्रतिकित्ता कारोबार भएको कागजमा उल्लेख गरी ११५ रुपियाँ प्रतिकित्तामा कारोबार गरेको प्रारम्भिक छानबिनबाट पाइएको बुझिएको छ । प्रतिकित्ता ५ रुपियाँका दरले कमिसनवापत सञ्चालकहरुले खाएको आशंका छ । यस हिसाबले २६ लाख ४३ हजार रुपियाँ बराबरको कमिसन सञ्चालकहरुले बाँडीचुडी खाएको प्रारम्भिक हिसाबमा देखिन्छ ।

त्यसो त क्रेता र बिक्रेता दुवै पक्ष मिलेर कम मूल्यांकन गरी मूल लगानीकर्ता न्युरोडस्थित विशालबजार कम्पनी र सर्वसाधारण लगानीकर्ताहरुलाई हानि नोक्सानी पुर्या‍एवापत पनि छानबिन थालिएको थियो । यसबाहेक कम्पनीको भवन निर्माण गर्दा ठेकेदारसँग मिलेमतो गरेको लगायत आरोपमा पनि अख्तियारले छानबिन अघि बढाएको थियो ।

‘चार अर्बको सम्पत्ति नेपाल सरकारका नाममा’


  •  
  •  
  •