विश्वयुद्धका १०१ वर्षे योद्धा भन्छन् ‘शान्तिभन्दा ठूलो सम्पत्ति केही छैन’

114
  •  
  •  
  •  

पोखरा, २ बैशाख : मुहारमा पातला सेता दाह्री। आँखामा पावरवाला चस्मा। शिरमा सधैं ढाका टोपी। हृष्टपुष्ट ज्यान देख्दा र फूर्तिलो आवाज सुन्दा पोखरा १२ माटेपानीका लालबहादुर गुरुङले एक सय एक वसन्त पार गरिसके भनेर पत्याउन मुस्किल हुन्छ।

नातिनातिना खेलाएर बस्नुपर्ने उमेरका यी वृद्धलाई बुढ्यौलीले अझै पछार्न सकेको छैन। उमेर ढल्कँदै गए पनि बेलायती गोर्खा सैनिकका अवकाश प्राप्त यी लाहुरेको जोस विश्वयुद्ध लड्दाजस्तै छ।

गाउँमा कोही बिरामी परे, सामाजिक काम आइपरे उनी लौरो टेकेरै पुगिहाल्छन्। जहिले जहाँ पुगे पनि उनी सबैलाई आफूले भोगेका अनुभव सुनाउँछन्। ‘सत्य कहिल्यै डग्दैन, झूटो कहिल्यै टिक्दैन, राम्रो काम गर्नेहरू कहिल्यै कसैसँग डराउनु पर्दैन’, उनले भने, ‘नबिराउनु नडराउनु, तर बेइमान कहिल्यै कसैसँग नगर्नु।’

तन्नेरीमा कास्कीको स्याङ्जाकोटबाट भागेर भारतको देहरादुन पुगी बेलायती सेनामा भर्ती भएको उनी सम्झन्छन्। पाँच महिना तालिम लिएपछि बेलायती सेनाको सिपाही भएर उनी संसारका कुनाकुना पुगे।

ज्यान हत्केलामा राखेर गोली, बम, बारुदको गोला र धुवाँसँग दिनरात भिड्दै भारत, इरान, साइप्रस, ट्युनिसिया, क्युबा, इटालीलगायतका देशसम्म पुगे। समुद्र, जंगल, मरुभूमि सबै ठाउँमा वीरतापूर्वक लडे।

युद्धमैदानमा उभिएपछि बाँच्न भए पनि अरूलाई मार्नुपर्दाको पीडाले अझै पोलिरहेको उनी बताउँछन्। ‘आफ्नो ज्यानको माया सबैलाई लाग्दो रैछ।

अर्कोलाई नमारे आफूलाई मार्ने भएकाले बाँच्नकै लागि मैले धेरैलाई मारें’, लड्दाका बाध्यता उनले सुनाए, ‘सँगसँगै हिँडेका साथीहरू आफ्नै सामुन्ने गोली लागेर ठहरै भएको देख्दा धेरैपटक धुरु धुरु रोएँ।’

युद्धका क्रममा साइप्रसमा खाना खान बसेको बेला ठूलो बमबारी भएको घटना सम्झँदा उनी अझै मर्माहत बन्छन्।

‘दिनभर लडेर थाकेकाले पलेँटी मारेर गोलाकार बसेर खाना खान लागेका थियौं, अचानक भररर गोली बर्सियो, उठेर भाग्न नपाउँदै ढ्वाङ गर्दै ठूलो धुवाँको मुस्लोसँगै साथीहरूको ज्यान पनि आकाशमा उड्यो’, त्रासदीपूर्ण घटना सुनाउँदै उनले भने, ‘म अलिपर डाँडामा बसेकाले बाँचे, तर १८ जना नेपाली एकै चिहान बने।

सँगै हिँडेका नेपाली दाजुभाइको टाउको एकातिर ज्यान अर्कोतिर उछुट्टिएर चोक्टा चोक्टा भयो। त्यो सम्झँदा अहिले पनि रुन मन लाग्छ।’

‘बाँच्नका लागि दुस्मनलाई मार’ युद्धको मैदानमा यही पढाइने गरेको उनले बताए। ‘कहाँ कति साथी मरे सम्झनै सक्दिनँ’, उनले भने, ‘बाँचौंला भन्ने आसै थिएन। लड्दै साइप्रस पुगेका बेला युद्ध बन्द भयो रे भनेको सुन्दा खुसीले भुइँमा खुट्टा थिएन। दिनभर भएभरको गोली परर पड्काएर खुसी मनाइरहयौं।’

१/२ गोर्खा बटालियनका योद्धा उनलाई बहादुरीपूर्वक लडेकाले बेलायत सरकारले पाँचवटा पदकसहित विभिन्न सम्मान दिएको छ। सन् १९४० भर्ती भएर सात वर्षसम्म युद्धमा होमिएका उनी साहस र इमानदारीको कदर भएकोमा खुसी छन्।

लेन्सनायक भएपछि घर फर्किएका उनले लडाइँमा धेरै हन्डर खाएकाले आफ्नै देशमा केही काम गर्नुपर्छ भनेर लागिपरेको बताए। उतिबेला गाउँमा विद्यालय खुलेको थिएन। नदीखोला तर्न पुल थिएन। उपचार गर्न अस्पताल बनिसकेको थिएन।

गाउँलेले निकै कष्ट भोगेको देखेपछि उनी विद्यालय खोल्न तम्सिए। गाउँमा विद्यालयको माग गर्दै राजाकहाँ पुग्ने भनेपछि धेरै गाउँले डराएको उनी सम्झन्छन्। ‘हाम्ले नपढेकाले नै दु:ख पाएका हौं। छोराछोरीलाई पढाउन स्कुल खोल्नुपर्छ भन्दा धेरैले हुन्छ भने।

तर राजालाई भन्न जाऊँ भन्दा डराए’, उनले सम्झिए, ‘आफ्नै ठाउँको विकास गर्न जान लागेको हो। चोर्न-ढाँट्न लागेको हो र? नबिराउनु नडराउनु भन्दै म अघि सरें।’ उनकै अगुवाइमा स्थापित सीताराम प्रावि अहिले उच्चमावि भइसकेको छ।

गाउँमा पुल, विद्यालय, स्वास्थ्यचौकी बनाउन उनी अघि सरे। सामाजिक क्षेत्रमा उनको योगदानको मूल्यांकन गर्दै सरकारले गत चैत २५ गते जनसेवा श्रीपदक पाँचौंबाट विभूषित गर्ने घोषणा गरेको थियो।

राष्ट्रपति डा.रामवरण यादवबाट त्यो पदक लिन उनी खुसीले फुरुङ हुँदै छोरा युवराजसँग जहाज चढेर राजधानी पुगे। तर विभिन्न कारण देखाएर पटकपटक कार्यक्रम स्थगित गरिदिए पछि उनी निराश हुँदै घर फर्केका थिए।

‘मलाई झूटो बोलेको र बेइमानी गरेको पटक्कै मन पर्दैन। यो देशमा ठूला मान्छेले जे गरे पनि हुँदोरहेछ’, उनले भने, ‘एक दिन सबैले मर्नुपर्छ, अर्कालाई झुक्काएर किन दु:ख दिने?’

पञ्चायती शासनमा उनी उपप्रधानपञ्च पनि भए। वडा नं ३ को अध्यक्ष पनि भएर काम गरे। शरीरमा तागत भइन्जेलसम्म १० वर्षअघिसम्म गाउँ आउजाउ गरेका उनी अहिले भने घरमै छन्।

उनका पाँच छोरा, दुई छोरी छन्। जेठी पत्नी र छोरी नरहेपछि उनले दोस्रो विवाह गरेका थिए। पहिलो छोरी अहिले ६४ वर्षकी छिन्।

घरमा छोराबुहारीले राम्रो हेरचाह गरेको यत्रो वर्षसम्म बाँच्न सकेको उनी बताउँछन्।

‘बुहारीले बेलैमा तातो खान दिन्छे, हेरचाह गर्छे, मलाई आनन्द छ’, उनले खुसी हुँदै भने, ‘शान्तिभन्दा ठूलो सम्पत्ति केही छैन। सबैतिर शान्ति भइरहोस्।


  •  
  •  
  •