‘लालबाबु राष्ट्रियता’को कसीमा फेल हुनेहरु

280
  •  
  •  
  •  

हेम राज शर्मा /

बागलुङमा दिनहुँ दुई घण्टा पैदल हिँडेर स्कुल जाने विगतका दिनहरुमा बेलायत आउने कल्पना समेत थिएन । विश्व मानचित्रमा बेलायत कहाँ छ, अमेरिका कहाँ छ अत्तोपत्तो थिएन ।

लाहुरे दाईहरुले विदेशको कुरा गर्दा घरबाट देखिने अन्नपूर्ण हिमालको पारी पट्टि होला विदेश जस्तो लाग्थ्यो । आकाशमा उढेको जहाजलाई पछ्याउदै दौडिन्थौ तर पनि मनमा जहाज चढ्ने चाहना र कल्पना भएन । हामी जस्तै मान्छेले जहाज उढाउँछन् र चड्छन् भन्ने मनोकांक्षा जाग्ने वातावरण थिएन । समयको नियती हाई स्कुल सकाएर राजधानीको यात्रा गरियो, उच्च शिक्षको लागि ।
आईएससी सकाएर गाउँको विद्यालयमा पढाओस, घरपरिवार र समाजलाई सहयोग गरोस भन्ने बुवाको इच्छामा मेरो कुनै आपत्ति थिएन । ‘भेलोसिटी’लाई गति र ’फ्रिक्सन’ लाई घर्षण भन्दा गलल्ल हाँस्ने सहपाठीको गन्तव्यको महत्वाकांक्षा विदेश जाने हुँदै गर्दा आफ्नो भने बुवाको अपेक्षा अनुरुप गाउँ फर्केने नै थियो ।

आईएससीको नतिजा आउँदा त्रिचन्द्र कलेजमा प्रथम भएको सुन्दा आफैलाई पत्यार नलाग्ने क्षण थियो । त्यही सफलताले म मा ‘अराष्ट्रियता’को गर्भधारण गरेछ । आईएससीमा त्यती धेरै सफल नभएको भए सायद म गाउँकै विद्यालयमा सेवा गरिरहेको हुन्थे होला ।

भाईहरुले मैले जस्तो नेपाली पढाउने गुरुबाट विज्ञानको शिक्षा लिनुपर्ने थिएन होला, उनीहरुले अवसरका लागि डीभी चिट्टा भर्न पर्ने थिएन होला । आईएससीको सफलताले डोर्याउदै बेलायतको प्रतिष्ठित विश्वविद्यालयमा अध्यापन गराउने अवसर जुरायो ।

बेलायतमा पाँच वर्ष काम गरि सके पछि स्वतः यहाँको स्थायी बसोवास कार्ड (पीआर) लिनुपर्ने हुन्छ, अर्को भिसाको प्रावधान छैन । परिस्थिति कस्तो आयो भने न त काम नै छाड्न सकियो, न बेलायत नै । आफ्नो बाल्यकाललाई सम्झिदा छोराहरुलाई अवसरबाट बञ्चित गर्न अन्याय हुने ठानियो ।

मनमा कसैगरे पनि ‘लालबाबु राष्ट्रियता’ जाग्न सकेन । लालबाबु राष्ट्रियताको कसीमा म आफैं नक्कली ठहरिए पछि मेरा छोराहरुको पहिचान के हुने ? उनीहरु आफूलाई नेपाली भन्न गर्व गर्छन् । स्कुलमा गौतम बुद्ध र सगरमाथा बारे पढाउँदा उनीहरुको छाती ढक्क फुल्छ ।

स्थानीय रेडियोमा कुखुराको बलीले जहाज मर्मत भएको उपहासपूर्ण समाचार सुन्दा आफू अपमानित भएको महसुस गर्छ । पारसको चौकामा रमाउँछन, शरदको छक्काको चाहना गर्छन् । नेपाली नागरिकता रद्द हुने डरले बेलायती पासपोर्ट लिन मान्दैनन् ।

साँस्कृतिक, धार्मिक, सामाजिक र भाषिक द्वन्द्वका माझमा नेपाली पहिचान जोगाउन संघर्ष गर्दैछन् । स्कुलमा यहुदी, छिमेकीमा ईसाई, घरमा हिन्दु धर्मको फ्युजन छ, उनीहरुमा । विदेशी भाषाको रुपमा स्पानिस–फ्रेन्च, स्कुलमा अंग्रेजी, परिवारमा नेपाली, टेलिभिजनमा आउने हिन्दी भाषाको संमिश्रण छ उनीको बोलीमा । तैपनि टुटे फुटेकै सही नेपाली नै बोल्छन् । दशै र तिहारमा निदार सजाउँछन् ।

होलीमा रंगिन्छन् । तर यी कुनैपनि कुरा लालबाबु राष्ट्रियताका मापक बन्न नसक्ने भए । विदेशमा जन्माएर यिनीहरुको राष्ट्रियता र पहिचानलाई संकटमा पारेकोमा क्षमा माग्नु बाहेक अर्को विकल्प रहेन । बागलुङमा उकाली ओराली गरिरहने मेरा नब्बे वर्षीय हजूरबा प्रति पनि म नतमस्तक छु, उहाँ जस्तो राष्ट्रप्रेमी हुन सकिएन ।

लालबाबुजीले लगाएको नेपाली ढाकाटोपीले आफूलाई जिस्काई राखे जस्तो लागेको छ । मेरै जस्तो परिवेशमा हुर्केको गाउँको भाई डीभी परेर अमेरिका छ । पढेर जागिर नभेटे पछि डीभीको विकल्प रोज्यो । भाई बहिनीको सुनौलो भविष्यको लागि संघर्षशील छ । सातै दिन बाह्र घण्टा काम गर्छ । बुवा आमा उसैमा आश्रित छन् । कहिले काही सुनाउँछ, सुपरमार्केटमा ‘जाम’ खोज्दा गोरिनीले नबुझेपछि ब्रेड देखाएर हातले इसारा गर्दा भनिछ ‘ओ ! यु आर लुकिङ फर ज्याम ।’ तैपनि उसले हरेस खाएको छैन । सामाजिक सञ्जालमा डीभीमा जानेलाई अपराधी जस्तो कटाक्ष गर्दा पनि विचलित छैन ।

नारायणीमा बगाउने लालबाबुको वाणीले भन्दा गाउँको स्कुललाई केही गर्न नसक्दा उसलाई बढी पिडा हुन्छ । तर मृगौला पिडित गाउँले दाईलाई आर्थिक सहयोग जुटाउन लागि पर्दा सन्तोष मान्छ । छोरीको बिहे गर्न डीभी परेकै सही विदेशमा बसेको ज्वाई चाहिने, भातृ संगठनको निमन्त्रणामा विदेशमा होलिडे (बिदा) मनाउँदा उनीहरुको वाहीवाही गर्न, अधिवेशन र चुनाव खर्च जुटाउन पनि उनीहरु नै चाहिने तर उनकै उपहारको विदेशी ह्विस्कीको चुस्कीमा विदेशमा बस्नेको सत्तोसराप गर्न हाम्रा नेताको काईदा बुझ्नै गाह्रो ।

जिन्दगीभर देशको सेवा गरेर आफ्ना छोराछोरीसँग विदेशमा रिटायर्ड जीवन बिताउने आफ्ना न्यायधिश साथीको विश्वसनीयतामाथि प्रश्न गरेर लालबाबुजीले आफ्नो वैचारिक दरिद्रता प्रष्ट गरेका छन् । बोल्दा व्यक्तिगत स्वतन्त्रता र लोकतन्त्रको दुहाई दिने तर मनस्थिति चाहीँ क्युवा र उत्तर कोरियाको जस्तो, कस्तो विरोधाभास हो हाम्रो नेतामा ?

लालबाबुजीको भनाइमा गर्व गर्न झलनाथजीलाई त के भनूँ र खै ? प्रवासी नेपालीमा पनि नेपालमा जस्तै विविधता छ । अधिकांशलाई विदेशमा टिक्न कै लागि पिआर वा पासपोर्ट लिनु पर्ने बाध्यता छ । छोराछोरीलाई स्थानीय सरहको अवसर, सामाजिक सुरक्षादेखि निवृतिभरणसम्मका सुविधाहरुका लागि पीआर र पासपोर्टले सहजीकरण गर्छ ।

पासपोर्ट लिएर छोराछोरीलाई सस्तो सरकारी ऋणमा विश्वविद्यालयमा पढाउने वा लालबाबुः राष्ट्रियताको लागि उनीहरुको भविष्य बिगार्ने ? अविभावकको रोजाई पहिलो नै हुन्छ । विदेशमा बसेकाले नेपालमा राजनिति गर्न पाईदैन भन्ने लालबाबुको कुरा सही छ ।

तर उनले बुझ्नु पर्ने के छ भने जो नेपालमा फर्कर राजनिति गर्ने वा उच्चपदमा जाने चाहना राख्छन् वा त्यसका लागि सक्षम छन् उनीहरुले विदेशी नागरिकता नलिइ नेपाली पासपोर्ट सुरिक्षित राखेका छन् । आम प्रवासी नेपालीहरुको जस्तो बाध्यता उनीहरुमा छैन । पुरै जीवन राजनितिमा समर्पण गरेका नेताहरु विदेशबाट आउने पाउना उम्मेदवारसँग भिड्न डराउने कस्तो आत्मबल हो ?

राष्ट्रप्रति सबैको दायित्व हुनुपर्छ भन्ने लालबाबुजीको भावनामा असहमत रहने कुरा भएन । जनताको करबाट तलब खाने कर्मचारीको मात्र होइन हरेक नागरिकको राष्ट्रप्रति दायित्व हुनुपर्छ । समाजलाई नेतृत्व गर्नेहरु त झन उदाहरणीय बन्न सक्नुपर्छ ।

राष्ट्रले लाखौँ लगानी गरेर उत्पादन गरेको शिक्षित जनशक्तिको जिम्मेवारी अझ बढी हुन्छ । तर जिम्मेवारीको बहन र मापन गर्न लालबाबु तरिका निर्विकल्प हुनसक्दैन । यसलाई भौगोलिक सीमा र मानिसको परिस्थितिसँग जोडेर हेर्न हुँदैन । आजको युगमा दायित्वबोध हुनेले धर्तीको जुन कुनामा बसेर पनि देशको सेवा गर्छ । नगर्नले नेपालमा बसेर पनि, सिंहदरवारको सिंहासन मै आसिन भएर पनि नगर्ने रहेछ ।

द्वन्द्व र राजनीतिक अस्थिरताले एक सय दशभन्दा बढी राष्ट्रमा लाखौँ नेपालीहरु संघर्षशील छन् । कान्छो डायस्पोरा भएर पनि मेहनत र इमानदारिताले छोटै समयमा प्रगति तिर उन्मुख छन् । उनीहरुलाई घृणा, शंका र अविश्वासको भावनाले हेर्न भन्दा उनीहरुले आर्जन गरेको सीप, पूँजी, अनुभव र एक्सपोजरलाई कसरी राष्ट्रले सदुपयोग गर्न सक्छ त्यतातिर ध्यान जानुपर्छ ।

विदेशीने नेपाली प्रति राष्ट्रको दृष्टिकोण र नीति पहिले नै बनाउनु पर्दथ्यो, अब ढिला गर्न हुँदैन । होइन भने आउदो पुस्ता पनि राष्ट्रियताको कसीमा उभिई रहनु्पर्ने छ । अहिलेको भूमण्डलीकरणको युग र नेपालको खुला नीतिले विदेश जानेलाई रोक्न सकिदैन, न्यूनिकरणका थुप्रै उपाय भने उपलब्ध छन् ।

हामी जस्तै अरु अल्पविकसित राष्ट्रले अपनाएका नीतिबाट सिक्न सकिन्छ । भई सकेको ‘ब्रेन ड्रेन’ लाई कसरी ‘ब्रेन गेनमा’ परिणत गर्ने र भूमण्डलीकरणले प्रदान गरेको अवसरलाई मुलुकको हितमा कसरी सदुपयोग गर्ने भन्ने तिर पो राष्ट्रको ध्यान केिन्द्रत हुनुपर्छ ।

(गैरआवासीय नेपाली संघका पूर्व प्रवक्ता भौतिकशास्त्री डा. शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयका सहप्रध्यापक हुन् ।)

hem_raj_sharma@hotmail.com


  •  
  •  
  •  

Comments are closed.