डाक्टर शेखर र ईन्जिनियर लालबाबुबीच रोचक प्रतिष्पर्धा

372
  •  
  •  
  •  

काठमाडौँ, १४ मंसिर :
डाक्टर पृष्ठभूमिका कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला र ईन्जिनियर पृष्ठभूमिका एमाले पोलिटब्यूरो सदस्य लालबाबु पण्डित प्रतिनिधि सभाको उम्मेदवार भएका कारण मोरङ–६ चर्चामा छ । दुवै नेता राजनीतिक जीवनमा दाग नलागेका र नाम कमाएका उम्मेदवार हुन् ।

कोइराला परिवारको विरासत जोगाउने यात्रामा रहेका शेखरलाई पूर्वमन्त्री पण्डित महंगो सावित भएका छन् । स्व. सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री भएपछि डीभी, पीआर भएका सरकारी कर्मचारीलाई अंकुश लगाएर चर्चामा आएका पण्डित निर्वाचनको बेलामा समेत सेलिब्रेटी बनेका छन् । शेखर पनि स्थानीयको प्रेसर जाँच्दै हिडेका छन् ।

के छन् चुनावी एजेण्डा ?
शेखरले कम्युनिष्टका कारण लोकतन्त्र धरापमा पर्ने, जनताले ढुक्कसँग बोल्न समेत नपाउने र स्थानीय मजदूरको समस्या समाधान गर्न समेत बाधक बन्दै आएको आरोप लगाएका छन् । एमाले र माओवादीकै कारण श्रमिक आयोग बन्न नसकेको उनको दावी छ । मोरङको समग्र विकास र प्रादेशिक राजधानी विराटनगरलाई बनाउन पनि कांग्रेसको पक्षमा मतदान गर्नुपर्ने तर्क उनले राख्दै आएका छन् । खानेपानीको समस्या समाधान, ढल निकासलगायतका विषयमा आफू गम्भीर भएको उनले बताउँदै आएका छन् । उनले कांग्रेसले मात्र हिमाल, पहाड र तराईको समस्या समाधान गर्न सक्ने जिकिर समेत गरेका छन् ।

पण्डितले भने राष्ट्रियता र जनजीविकाका लागि वाम उम्मेदवारलाई जिताउनुपर्ने बताउँदै आएका छन् । पण्डितले बृहत्तर विराटनगरको विकास अवधारणाअन्तर्गत प्रदेश नं. १ को राजधानी विराटनगर बनाउन दृढ संकल्पित रहेको बताएका छन् । पण्डितले विराटनगरलाई ‘शैक्षिक हब’को रुपमा विकास गरी क्यान्सर र हृदयरोग अस्पताल स्थापनाका लागि पहल गर्ने समेत योजना अगाडि सारेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रका समेत आफू दृढ भएर लाग्ने उनको प्रतिवद्धता छ ।

चुनावी अनुभव
कोइराला यसअघि यही भूगोल क्षेत्र नं ७ हुँदा २०६४ को उपनिर्वाचन र २०७० को दोस्रो संविधान सभामा विजयी भएका थिए । उनी चौथो पटक निर्वाचन लड्दै छन् । पहिलो संविधान सभा निर्वाचन २०६४ मा कोइराला पराजित भएका थिए ।

पण्डितले मोरङको क्षेत्र नम्बर ३ बाट २०४८ र २०५६ मा प्रतिनिधि सभा निर्वाचन जितेका थिए । पहिलो संविधान सभामा समानुपातिक कोटाबाट सभासद् भएका पण्डित दोस्रो संविधान सभामा सांसद् बिना नै सामान्य प्रशासनमन्त्री भएका थिए । ग्रिनकार्ड वा पिआर लिएका सरकारी कर्मचारीलाई कारबाही गरेर ख्याति कमाएका पण्डित राष्ट्रवादी र स्वाभिमानी नेताका रूपमा चिनिन्छन् ।


  •  
  •  
  •