एक हप्ताभित्र समायोजनको सबै काम सकिन्छ : मन्त्री पण्डित

432
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख(ओएनएस) : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सबै काम सकिने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले प्रशासनिकतर्फको कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न भैसकेको बताए ।

उनले भने, ‘अहिले स्वास्थ्यतर्फको काम धमाधम भैरहेको छ । एक हप्ताभित्रै सबै समायोजनको काम सम्पन्न गरिसक्छौं । बढिमा यो महिनाभित्रै काम सकिन्छ भन्नेमा म विश्वस्त छु ।’

मन्त्री पण्डितले मुलुक यतिवेला संघीयता कार्यान्वयनको चरणमा रहेकोले सरकार त्यसतर्फ सचेत भएर अघि बढिरहेको बताए ।

संघीयता कार्यान्वयनका कामहरु अघि बढाउँदा केही अप्ठ्याराहरु आएपनि वर्तमान सरकारले बढो जिम्मेवार ढंगले कामहरु सम्पन्न गरिरहेको पनि मन्त्री पण्डितको भनाई छ ।

समायोजनको विषयमा कर्मचारीहरुले उठाएका र राखेका जायज गुनासाहरुलाई सरकारले सम्बोधन गरेको समेत उनले बताए ।  समायोजनको हकमा महिला तथा गम्भिर विरामी लागेका कर्मचारीहरुलाई पहिलो प्राथमिकता दिइएको उनले स्पष्ट पारे ।

त्यस्तै, फरक क्षमता भएका लगायतका अन्य कर्मचारीहरुको पनि आफूहरुले उचित व्यवस्थापन गर्ने मन्त्री पण्डितले बताए ।
स्थानीय तहको सवालमा पनि यो वर्षको असार मसान्तभित्रै कर्मचारीको सबै व्यवस्थापन भैसक्ने उनले दाबी गरे ।


  •  
  •  
  •