‘लाल आयोगको प्रतिवेदन’ सार्वजनिक गर्न सरकारलाई सभामुखको ‘रुलिङ’

736
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कैलालीको टिकापुर घटनाका सम्वन्धमा छानबिन गर्न गठन भएको ‘लाल आयोगको प्रतिवेदन’ सार्वजनिक गर्न ‘रुलिङ’ गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ‘लाल आयोगको प्रतिवेदन’ सार्वजनिक नगरिए सदनको कारबाही रोक्ने चेतावनी दिएको थियो ।

चेतावनीपछि सभामुख महराले सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् । टिकापुर घटनामा उच्च प्रहरी अधिकारीसहित ९ जनाको ज्यान गएको थियो ।

उक्त घटनामा जिल्ला अदालत कैलालीले राजपाको तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइ सकेको छ ।

उक्त घटनाको छानबिन गर्न सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वका आयोग गठन भएको थियो । आयोगले स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रतिवेदन गृह र प्रधानमन्त्री कार्यालयमा गोप्य राखिएको छ ।

प्रतिवेदन सार्वजनिक नभएपनि जिल्ला अदालतले आफ्ना सांसदलाई दोषी ठहर गरेपछि राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले ‘यो प्रतिवेदन किन लुकाइयो’ भनि जवाफ माग गरेका थिए ।

बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रतिवेदन सार्वजनिक भएका आफ्नो दमन खुल्ने भन्दै सरकार डराएको बताए ।सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न ‘रुलिङ’ गर्न उनले सभामुखसमक्ष माग गरेका थिए ।


  •  
  •  
  •