‘लाल आयोगको प्रतिवेदन’ सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध

1348
  •  
  •  
  •  

काठमाडौं, ३ चैत(ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा) ले आजको संसद बैठक अवरुद्ध गरेको छ । अपरान्ह प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेका हुन् ।

संसदमा उभिएर बोल्दै राजपा नेता लक्ष्मणलाल कर्णले बडो दुर्भाग्य भएको भन्दै आफूहरुले संसद बैठक अवरुद्ध गर्न बाध्य भएको बताए ।

पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने सांसद कर्णले बताए ।

टीकापुरलगायत तराई मधेसमा भएका आन्दोलनको घटनाको छानबिन गर्न गठित उक्त आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक भएको छैन ।

आन्दोलनमा कोही दोषी हो कि होइन भन्ने विषय राज्यले बनाएको आयोगबाट थाहा हुने उनले बताए ।
उनले भने, ‘सम्पूर्ण आन्दोलनको मुद्दा फिर्ता हुन्छ, तर दुर्भाग्य छ, हामी मधेसी र थारुको मुद्दा समझमा आउँदैन ?’
राजपाले गत बुधबार पनिसंसद बैठक अवरुद्ध गरेको थियो । उक्त बैठकमा सभामुख कृष्णबहादुर महराले उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका थिए । तर प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।
सांसद कर्णले सरकारले सार्वभौम संसदलाई समेत नटेरेको भन्दै आक्रोश पोखे ।

आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै सभामुख कृष्णबहादुर महराले राजपा सांसदलाई बस्नका लागि अनुरोध गर्दा पनि उनीहरुले बस्न नमानेपछि बैठक १० मिनेटका लागि स्थगन गरेका छन् ।


  •  
  •  
  •