लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

247
  •  
  •  
  •  

काठमाडौं, ७ जेठ(ओएनएस) : प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा)ले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

पार्टीका नेता महेन्द्रप्रसाद यादवले बैठकको सुरुमै उक्त प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गरेका थिए ।

राजपाले यस अघि पनि प्रतिवेदन सार्वजनिक गर्दै बैठक अवरद्ध गरेपछि सभामुखले दुई पटक रुलिङ गरेका थिए ।
बैठकमा यादवले भने, ‘नेपाली जनताको सार्वभौम अधिकार प्राप्त संसद् र सभामुखको रुलिङलाई सबैले मान्नुपथ्र्यो । सभामुखबाट दुई पटक रुलिङ भइसके पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न नमान्नु दुःखद हो ।’

उनले संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै माग सम्बोधन नगरिए आगामी संसद्को बैठक अवरोध हुनसक्ने चेतावनी दिएका थिए ।

बैठकको सुरुमै राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले नेता यादवलाई बोल्न समय दिएका थिए ।

यादवले बोलेपछि सभामुख महराले राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएका थिए ।


  •  
  •  
  •