थरुहट आन्दोलनका कैलाली संयोजक पक्राउ

408
  •  
  •  
  •  

lahuram chaudharyधनगढी, २४ भदौ (ओएनएस) : थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरी ‘अजगर’ पक्राउ परेका छन् ।
भदौ ७ गते टीकापुरमा भएको हिंस्रक घटनामा संलग्न भएको आरोपमा प्रहरीले चौधरीलाई आज धनगढीस्थित उनकै घरबाट पक्राउ गरेको हो ।

कैलालीका प्रहरी प्रमुख एसपी विक्रमबहादुर चन्दले घटनाबारे अनुसन्धान गर्न चौधरीलाई नियन्त्रणमा लिइएको बताए । ‘घटनाबारे अनुसन्धान गर्न चौधरीलाई नियन्त्रणमा लिइएको छ, दोषी पाइए कारवाही अघि बढ्छ, निर्दोष भए छोडिन्छ,’ एसपी चन्दले भने ।
पक्राउ परेका चौधरी अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका छन् । चौधरी थरुहट आन्दोलनको अगुवाई गर्दै आएको थारुकल्याणकारिणी सभा कैलालीका सभापति पनि हुन् ।

यसैगरी, भैरहवाबाट पक्राउ परेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण चौधरीलाई पनि कैलाली ल्याइएको छ ।

रुपन्देही प्रहरीले बुधबार बिहान पक्राउ गरेका थारुलाई आज धनगढी ल्याइएको कैलालीका प्रहरी प्रमुख चन्दले जानकारी दिए ।

नेपाल प्रहरीका एसएसपीसहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको हिंस्रक घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको छ ।


  •  
  •  
  •