काठमाडौ, ६ मंसिर(ओएनएस) : लगानी बोर्डले काठमाडौँ उपत्यकाभित्रका फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न दुईवटा अन्तर्राष्ट्रिय संस्थालाई जिम्मा दिने भएको छ ।
बोर्डको बैठकले फोहोरमैला व्यवस्थापनका लागि ठोस आधार तयार पार्नका लागि भारतीय र इटालीको कम्पनीलाई जिम्मा दिन लागेको हो ।
फोहोरमैलाले सहरी सौन्दर्य बिग्रेको तथा दीर्घकालीन व्यवस्थापन हुन नसकेको भन्दै बोर्डले तीनवटा प्याकेजमार्फत काम अगाडि बढाउन लागेको हो । प्याकेज एकमा काठमाडौँ महानगरपालिका र १३ वटा गाविसका फोहोर सङ्कलन गरिनेछ । प्याकेज दुईमा ललितपुर उपमहानगरपालिका, कीर्तिपुर नगरपालिका र आसपासका नौवटा गाविस समेटिने तथा प्याकेज तीनमा भक्तपुर र मध्यपुर नगरपालिका र सातवटा गाविसलाई समेटिने छ ।
बोर्डको डीपीआर तयार गर्न इटाली र भारतीय कम्पनीले चासो देखाएका छन् । एम कम्प्युनिकेसन ओवाई इन एसोसिएसन पाइरी बायोटुस एन्ड दी अर्गानिक भिजेल भारत र एलएम बिभिजी, ग्रीनफिल्ड वेस्ट म्यानेजमेन्ट कम्पनी एन्ड केआरवाइएसएस इन्टरनेसनल जेभीलाई डिपिआर तयार पार्ने जिम्मा दिन लागेको हो ।
ती दुईवटै संस्थाले केही समय पहिले फिल्ड भेरिफिकेसन सकेर बोर्डमा प्रतिवेदन बुझाइसकेको छ । त्यसमा बाटो र नाली सफाइ, घरेलु फोहर, व्यावसायिक क्षेत्रबाट निस्कने फोहोर, मेडिकल क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थापन गरिनेछ । फोहोर सङ्कलन तथा परिवहन, स्रोत सङ्कलन प्रविधि, उपलब्ध मानवस्रोत, सामुदायिक संस्थाहरू, गैरसरकारी संस्थाको उपयोग, ल्यान्डफिलको विसर्जन र व्यवस्थापन गर्न जिम्मा दिने बोर्डको तयारी छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले फोहोरमैलाको दीर्घकालीन समस्या समाधान गर्नुपर्ने माग विगत लामो समयदेखि उठ्दै आए पनि कुनै पनि सम्बोधन नभएको सन्दर्भमा डिपिआर तयार पार्न लागिएको बताए ।
फोहोरबाट मोहोर निकाल्ने अभियानलाई सार्थककता प्रदान गर्नका लागि आगामी एक वर्ष्भित्रै ठोस कार्य गर्ने योजना अगाडि सारिएको बोर्डको भनाइ छ ।
रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गरिने बोर्डले मुलुकमा आवश्यक पर्ने रासायनिक मल कारखाना सञ्चालनको सम्भाव्यता अध्ययन गर्नका लागि प्रक्रिया शुरु गरेको छ ।
अध्ययन गर्नका लागि बेलायतको जेर्डन, इटालीको साम्बियन र भारतको टाटा, आइडिक र अर्को एक कम्पनीले बोर्डमा निवेदन दिएका छन् ।
ती संस्थाले कुन स्थानमा कारखाना स्थापना गर्ने र त्यसका आधारहरू के के हुने भन्ने विषयमा अध्ययन गर्नेछ । वार्षिक पाँच लाख टन रासायनिक मल उत्पादन गर्ने गरी योजना अगाडि सारिएको छ ।
सो परियोजनाको अनुमानित लागत १ खर्ब ४४ अर्ब अमेरिकी डलर रहेको छ । रासायनिक मल उत्पादनका लागि आवश्यक पर्ने विद्युत् के कति आवश्यक पर्ने हो सम्भाव्यता अध्ययन पछिमात्रै पत्ता लाग्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत पन्तको भनाइ छ ।
Comments are closed.