लगानी सम्मेलनको कार्यतालिका सार्वजनिक

सरकारले ७७ परियोजना प्रस्तुत गर्ने
390
  •  
  •  
  •  

काठमाडौं, १३ चैत(ओएनएस) : यहि चैत्र १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा ७७ वटा परियोजनाहरु सरकारले प्रस्तुत गर्ने भएको छ ।

जसमध्ये ५० वटा सरकारले र २७ वटा निजी क्षेत्रले तयार पारेका छन् ।  सम्मेलनमा ६ सय भन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहने अर्थमन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा बुधबार पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.युवराज खतिवडाले सो जानकारी गराएका हुन् ।  सम्मेलनमा १ दर्जन जति परियोजनामा हस्ताक्षर गर्ने बताइएको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री के. पी शर्मा ओलीले गर्ने छन् भने निजी क्षेत्रसहित विभिन्न उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता रहनेछ ।

सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ, विश्व बैकका उपाध्यक्ष हार्टविग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्यभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केइको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा नीजि क्षेत्र सम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ ली, माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डाबर युनिलिभर लगायतका उच्च पदस्थ पदाधिकारीको सहभागी हुने लगानी बोर्डले जनाएको छ ।

दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारबारे प्रस्तुतिकरण हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानी सम्बन्धी अनुभवसहित सातवटा विषयगत सत्र सञ्चालन हुनेछन् ।

दोस्रो तथा अन्तिम दिन दुईवटा क्षेत्रगत तथा तीनवटा प्लेनरी सत्रहरु सञ्चालन हुनेछन् । सम्मेलनलाई नै लक्षित गरेर सरकारले सार्वजनिक नीजि साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधन समेत गरिसकेको छ ।


  •  
  •  
  •