निर्माण सामग्रीको अभाव ठूला योजना प्रभावित

291
  •  
  •  
  •  

Under-Construction in Bhairahawaरुपन्देही, ४ जेठ(ओएनएस) : रूपन्देहीमा सञ्चालनमा रहेका ठूला आयोजनाहरुमा निर्माण सामग्रीको अभावमा हुँदा ढिलाई भएको छ ।

ढुंगा गिट्टीको अभावले लक्ष्यको एक चौथाई काम समेत हुन सकेको छैन । ढुंगा गिट्टीको अभावले गौतमबुद्ध अन्तर्राट्रिय विमानस्थल सुदृढीकरण आयोजना, व्यापारिक मार्ग विस्तार आयोजना बुटवल–बेलहिया र लुम्बिनी परिक्रमा वर्दघाट–पालडाडा–त्रिवेणी सडक आयोजना अलपत्र परेका हुन् ।

यी तीन आयोजनालाई ६ लाख ३० हजार घनमिटर नदीजन्य पदार्थ आवश्यक छ । तर, त्यसको पाँच प्रतिशत पनि आपूर्ति हुन सकेको छैन । नदीजन्य पदार्थको अभावले सडक निर्माणका दुई आयोजनाको समय लम्बिने र लागत बढ्ने हुन्छ भने विमानस्थलको हाल निर्माण भएको संरचनामा ठूलो क्षति हुन्छ ।

बर्खा अघि ढुंगागिट्टी पाइएन भने कल्पना गर्न नसकिने क्षति हुन्छ, गौतमबुद्ध अन्तर्राट्रिय विमानस्थल सुदृढीकरण आयोजनाका योजना प्रमुख ओम शर्माले भने । विमानस्थललाई तत्कालका लागि साढे तीन लाख घनमिटर ढुंगागिट्टी आवश्यक रहेको उनले बताए । कम्तिमा २ लाख घनमिटर नदीजन्य पदार्थ उपलब्ध नभएमा अहिले भएको रन–वे निर्माणको काममा नोक्सानी हुने उनले जानकारी दिए ।

विमानस्थलको ३ हजार मिटर लम्बाईको रन–वेमा माटो बिच्छ्याएको छ । माटोमाथि सवग्रेड सामग्री राख्न नसके वर्खाको पानीले माटो बगाउने र अहिलेसम्मको काम नष्ट हुने योजना प्रमुख शर्माले बताए । सव वेस लेयरमा ढुंगागिट्टी राख्न नसकिए ठूलो नोक्सानी र समयको बर्बादी हुने उनको भनाई छ ।

नदीजन्य पदार्थको अभावका कारण बुटवल–बेलहिया छ लेन सडकको एक चौथाई काम पनि पूरा हुन सकेको छैन । व्यापारिक मार्ग बिस्तार आयोजनाले चालु आर्थिक वर्षमा ५.१ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो तर, अहिलेसम्म कत्ति पनि कालोपत्रे हुन सकेको छैन । ‘यो आर्थिक वर्षभित्र १ किलोमिटर मात्रै कालोपत्रे गर्न सकिने म्याटिरियल्स हामीसँग छ, आयोजनाका इन्जिनियर लिलाबहादुर भण्डारीले भने ।

आयोजनाले बुटवल क्षेत्रबाट ३ किलोमिटर र भैरहवा क्षेत्रबाट २.१ किलोमिटर सडक कालोपत्रे गर्ने योजना बनाएको थियो । यो वर्ष बुटवलतर्फबाट ड्राइभरटोलसम्म मात्रै कालोपत्रे हुने सम्भावना छ । नदीजन्य पदार्थको मात्रै काम भएकाले त्यसको अभावमा कार्य प्रगति हुन नसकेको इन्जिनियर भण्डारीले जानकारी दिए ।

आयोजनाका लागि तत्काल ५ हजार टिप्पर ढुंगा आवश्यक छ । रुपन्देहीमा नभएपछि पाल्पा, कपिलवस्तु, मुग्लिन, गुल्मीबाट नदीजन्य पदार्थ ल्याइएको थियो । लुम्बिनी परिक्रमा वर्दघाट–पालडाडा–त्रिवेणी सडक आयोजनाको काम पनि नदीजन्य पदार्थको अभावमा रोकिएको छ । सो आयोजनाका लागि १ सय १४ घनमिटर नदीजन्य पदार्थ आवश्यक छ ।

Under-Construction in Bhairahawa1राष्ट्रिय गौरवका आयोजनामा नदीजन्य पदार्थका कारण कार्यप्रगति रोकिएपछि गएको माघ २० गते मन्त्रिपरिषदले बाधा अड्काउ फुकाउने निर्णय गरेको थियो । सोही बमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समितिहरुलाई गौरवका आयोजनालाई प्रक्रिया पुराएर नदीजन्य पदार्थ दिन निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन कार्यान्वयन नभएपछि फेरि मन्त्रालयले गत चैत ५ गते नदीजन्य पदार्थ उपलब्ध गराउन निर्देशन गरेको थियो । तर, अझै पनि सो निर्देशन रुपन्देही जिविसले कार्यान्वयन गरेको छैन । जिल्ला विकास समितिले मन्त्रालयका निर्देशनअनुरुप नदीजन्य पदार्थ उपलब्ध नगराएपछि तीन आयोजनाले बैशाख ७ गते जिल्ला विकास समितिलाई आवश्यक मात्रा र निकाल्न मिल्ने स्थानको अध्ययन गरी आवेदन गरेका छन् ।

रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले बिमानस्थलका लागि केही मात्रामा नदीजन्य पदार्थ उपलब्ध गराइएको बताए । तिनाउ नदीका केही स्थानबाट विमानस्थललाई र कञ्चन नदीबाट लुम्बिनी परिक्रमा सडक आयोजनालाई नदीजन्य पदार्थ उपलब्ध गराइएको उनले जानकारी दिए ।

काम भन्दा कुरा गर्ने प्रवृति देखिएको छ, हामीले म्याटेरियल उपलब्ध गराएका छौं, उनले भने । विमानस्थल सुदृढिकरण आयोजनाका प्रमुख शर्माले जिविसले उपलब्ध गराएको नदीजन्य पदार्थ मागको १० प्रतिशत पनि नभएको बताए ।

‘विमानस्थलले मात्रै २४ करोड बढी रोयल्टी जिविसलाई तिर्छ, तै पनि नदीजन्य पदार्थ उपलब्ध गराउने पहल हुन सक्दैन’, उनले भने, ‘यस्तो हुनु विकास आयोजनाका लागि दुर्भाग्य हो ।’ स्थानीय विकास अधिकारी सुवेदीले जेठको पहिलो सातादेखि केही मात्रामा नदीजन्य पदार्थ उपलब्ध गराइने बताए । ‘वातावरणीय मुल्यांकनको काम अन्तिम चरणमा छ, त्यो पूरा हुनासाथ जेठको पहिलो साताबाट नदीजन्य पदार्थ उपलब्ध हुन्छ, तर त्यो माग अनुरुपको हुन सक्दैन ।’, उनले बताए । आयोजनाहरुले रोयल्टी वापतको रकम जम्मा गर्नासाथ नदीजन्य पदार्थ उपलब्ध हुने दावी गरेका छन् ।

घोडाहा खोलाबाट निकाल्न सिफारिस तीन आयोजनाले देवदहको घोडाहा नदीबाट ढुंगागिट्टी निकाल्न सकिने भन्दै अध्ययन प्रतिवेदन जिविसलाई दिएका छन् । घोडाहाको दुई वटा क्षेत्रबाट दुई लाख ३७ हजार स्वायर मिटर नदीजन्य पदार्थ निकाल्न सकिने अध्ययनले जनाएको छ । सो खोलाबाट नदीजन्य पदार्थ ननिकाले बस्ती जोखिममा पर्ने इन्जिनियर लिलाबहादुर भण्डारीले बताए ।

सबै कार्यालयको रोहबरमा नदीबाट पदार्थ निकाल्ने प्रस्ताव भने जिल्ला विकास समितिले स्विकार नगरेको आरोप छ । ढुंगा गिट्टी निकाल्ने काममा पारदर्शिता नभएकाले आनाकानी भइरहेको र कमिसनको चक्करले ढिलाई भएको आरोप पनि छ ।

तर, स्थानीय विकास अधिकारी सुवेदीले घोडाहाबाट नदीजन्य पदार्थ निकाल्नका लागि माथिल्लो निकायमा पत्राचार गरिएको जानकारी दिए । घोडाहा खोला चुरे संरक्षण क्षेत्र अन्तर्गत रहेको छ । स्थानीय बासिन्दाले घोडाहाबाट नदीजन्य पदार्थ निकाल्नका लागि माग गरिरहेका छन् । वैधानिक रुपमा नदीजन्य पदार्थ ननिकाले पनि सो क्षेत्रबाट चोरी भइरहेको छ ।


  •  
  •  
  •