काठमाडौँ, १५ असोज(ओएनएस) : जुम्लाकी लउरी माया थामीले अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन् । जुम्लामा रहेर छाउपडी प्रथा, बालविवाह, जातीय छुवाछुतविरूद्ध जनचेतना जगाउने काममा सक्रिय भएकी लउरी मायालाई वुमन वर्ल्ड समिट फाउण्डेशन(डब्लुडब्लुएसएफ), जेनेभा, स्विजरल्याण्डले प्रदान गर्ने अवार्डबाट सम्मानित गरिएको हो ।
हरेक वर्ष ग्रामिण क्षेत्रमा अहोरात्र खटिने विश्वभरका १० महिलालाई उक्त अवार्डबाट सम्मानित गरिएकोमा नेपालकी लउरीमायाले पनि उक्त अवार्ड हात पार्न सफल भइन् । लउरी मायालाई अवार्डसहित १ हजार अमेरिकी डलर समेत प्रदान गरिनेछ । अहिलेसम्म यो अवार्ड विभिन्न विधामा महत्वपूर्ण योगदान गरेका ४ सय १३ महिलाहरूलाई प्रदान गरिएको छ ।
अवार्ड जितेकी उनलाई अवार्ड पाउँदा कस्तो लागेको छ भन्ने ओएनएसको प्रश्नमा उनले भनिन्, ‘म खुसी छु, मैले केही काम गरेको थिए जस्तो लागेको छ र अब पनि यो कामलाई थप शसक्त रूपमा अगाडि बढाउँछु ।’ उनले यो अवार्ड प्राप्त गर्नका आफ्नो नाम पढाईदिने एक्सन वर्क्स नेपालकी अध्यक्ष राधा पौडेललाई समेत धन्यवाद दिइन् र भनिन्, ‘राधा बहिनी नभएको भए सायद मैले यति ठूलो पुरस्कार पाउँदैनथे । बहिनीले नै के के गर्नुभयो मेरो लागि, म हृदय देखी नै धन्यवाद दिन चाहन्छु ।’
को हुन् लउरी माया ?
६० वर्ष नाघिसकेकी लउरीमायाको जुम्लाको दिल्लीचौर गाविसको लुमामा बस्दै आएकी छिन् । लुमा जुम्लाको सदरमुकाम खलंगाबाट करिब ५ घण्टा पूर्वतिर हिडे पनि पुगिन्छ । यो ठाऊँ गरिबी, भौगोलिक विकटता, बहिस्करण, बत्ति, पानी, यातायातको पौँचबाट टाढा रहेको छ ।
नेपालमा सम्बन्ध विच्छेद, महिलाले दोस्रो विवाह गर्ने पाइने नियम नबन्दै झण्डै ४० वर्ष अगाडि बहुविवाह गर्ने श्रीमान् विरुद्ध मुद्धा हालेर सम्बन्धविच्छेद गरेर दोस्रो विवाह गरेकी थिइन् लउरी मायाले । करिब १४ वर्षअघि श्रीमान् गुमाएकी उनले आफ्नो परम्पराअनुसार विधवाको पहिरन लगाउन अस्विकार गर्दै विधुवा अधिकारबारे वकालत गर्दै सामान्य परिहन पहिरिएर समाजमा एक उदाहरणको रुपमा प्रस्तुत भइन् । यस्तै, उनले अन्य विधवा महिलालाई पनि पहिले जस्तै सामान्य रुपमा जीवनयापन गर्न र विधुवाको पहिरन नलगाउन आग्रह गर्दे आफ्नो गाउँमा चेतना जगाउने काम गरिन् ।
उनले जुम्लामा व्याप्त रहेको छाउपडी प्रथा, विभिन्न खालका महिला हिंसा, हटाउनका शसक्त रूपमा काम गरिरहेकी छि्न । आफ्नो नाम मात्र लेख्न सक्ने उनले बालविवाह, जातीय छुवाछुतका विरूद्ध पनि आवाज उठाइन् । उनले झण्डै आधा दर्जन संघसंस्थामा रहेर काम गरेकी छिन् । विकट क्षेत्रका महिला, अपाङ्ग, दलित तथा पिछडिएका महिलाहरुको सवाल लिएर उनी जिल्लाका सञ्जाल, जिल्ला प्रशासन कार्यालय तथा अदालत समेत पुग्छिन् र कामको टु्गो लगाउँछिन् । उनी बलात्कार अन्त्य होस् वा आमाको नाममा नागरिकताको विषयको होस्, भोक तिर्खा केहि नभनी खटेर लागेकी छिन् ।
लउरीमायाले लैङगिक विभेदको अन्त्यका लागि महिला शसक्तिकरण अभियानअन्तर्गत रहेर काम गरेकी छिन् । महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्नका लागि घर-घरमा पुगेर चनचेतना जगाउने काम गरेकी छिन् । उनले घर-घरमा पुगेर आफ्नो बालबालिका यसमा पनि विषेश गरी छोरीहरूलाई विद्यालय पढाउन बालबालिकाका वाबुआमालाई सम्झाउने काममा निरन्तर लागिरहेकी छिन् ।
उनले महिला स्वास्थ्य स्वमंसेविकाको रूपमा गर्भवती महिलालाई आमाको प्रजनन स्वास्थ्यका तथा शिशुको स्वास्थ्यका सम्बन्धमा र युवा जोडीलाई स्थायी तथा अस्थायी परिवार नियोजनका विषयमा जनचेतना फैलाउने काम पनि गर्दै आएकी छिन् । उनले शहरमा सबै सुख सुविधामा बसेर महिला अधिकारका विषयमा भाषण गर्ने तर व्यवहारमा लागू गर्न खुट्टा कमाउने महिलाका लागि एक उदाहरणका रूपमा प्रस्तुत भएकी छिन् ।
अवार्ड कसरी प्राप्त गरिन् ?
लउरी मायालाई यस अन्तराष्ट्रिय अवार्डका लागि एक्सन वर्क्स नेपाल की अध्यक्ष तथा खलङ्गामा हमलाकी लेखिका राधा पौडेलले सिफारिस गरेकी थिइन् । उनले लउरी मायाले जुम्लाजस्तो विकट ठाऊँमा अन्धविश्वासमा बाचिँरहेका जनताबीच कसरी उनले जनचेतना जगाउने काम गरिन् भन्ने उल्लेख गर्दै लउरी माया उक्त पुरस्कारका लागि योग्य भएको भन्दै सिफारिस गरेकी थिइन् । अध्यक्ष पौडेलले करिब २ वर्षसम्म सँगै रहेर काम गरेको बताउँदै उनले गरेको उद्वितीय कामका लागि आफूले सिफारिस गरेको बताइन् ।