वर्षको अन्तिम खेलमा बार्सिलोना, एथलेटिको र रियलको जित

169
  •  
  •  
  •  

काठमाडौँ, १६ पुस(ओएनएस) : स्पेनिस लिग ला लिगामा बार्सिलोना र रियल मड्रिडले आफ्नो खेलमा विपक्षीलाई पराजित गर्दै सन् २०१५ को सुखद बिदाई गरेका छन् । गयराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बाटिसलाई र रियल मड्रिडले रियल सोसिडाडलाई पराजित गर्दै यस वर्षको लिगको अन्तिम खेल खेलेका हुन् ।

लिग लिडर बार्सिलोनाले रियल बाटिसलाई ४-० गोलअन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेललाई बार्सिलोनाले पूरै समय आफ्नो पकडमा राखेको थियो । निकै धेरै मौकाहरू गुमाएको बार्सिलोनाका लागि पहिलो गोल आत्मघाती गोल मार्फत प्राप्त भयो । २९ औ मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टी नेयमारले प्रहार गर्दा बारमा लागेर फर्किएपछि बाटिसका हाइकोले आत्मघाती गोल गर्न पुगे ।

यसपछि बार्सिलोनाका स्टार लियोनेल मेसीले ३३ औ मिनेटमा गोल गर्दै खेललाई २-० को स्थितिमा पुर्‍याए । यो गोलसँगै मेसीले बार्सिलोनाका लागि ५ सयौ खेलमा ४२५ गोल गरेका छन् । खेलको दोस्रो हाफको दोस्रो मिनेटमा अर्थात् खेलको ४६ औ मिनेटमा लुइस स्वारेजले गोल गर्दै आफ्नो टोलीको जितलाई थप सहज बनाए । यसपछि उनै स्वारेजले ८३ औ मिनेटमा गोल गर्दै खेललाई ४-० को स्थितिमा पुर्‍याए र खेलमा बार्सिलोनाले ४-० गोलअन्तरको विजय हासिल गर्‍यो ।

यसैगरी, गयराती सम्पन्न अर्को खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३-१ गोलअन्तरले पराजित गरेको छ । खेलको २४ औ मिनेटमा पाएको पेनाल्टी मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले मिस गरेका थिए । यसपछि पहिलो हाफकै ४२ औ मिनेटमा मड्रिडले पाएको दोस्रो पेनाल्टीमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यसपछि पहिलो हाफमा थप गोल हुन सकेन ।

खेलको दोस्रो हाफ सुरू भएको केही मिनेटमा नै सोसिडाडका ब्रुमाले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । तर, खेलको ६७ औ मिनेटमा रोनाल्डोले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल र खेलको ८६ औ मिनेटमा लुकास भाजक्वेजले गोल गरेपछि रियलले खेल ३-१ ले जित्यो ।

यस्तै, गयराती नै सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले रायो लाभेलकानोलाई २-० ले पराजित गर्दै अंकतालिकाको दोस्रो स्थानमा कब्जा जमाएको छ ।

जितपछि बार्सिलोना १६ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ भने एथ्लेटिको मड्रिड १७ खेलबाट ३८ अंकका साथ दोस्रो र रियल मड्रिड १७ खेलबाट ३६ अंकका साथ तेस्रो स्थानमा छ ।


  •  
  •  
  •