काठमाडौं,३ कार्तिक (एजेन्सी) : स्पेनिस ला लिगाको शीर्ष स्थानमा अलाभेस उक्लिएको छ । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा सेल्टा भिगोको मैदानमा १-० को जित दर्ता गर्दै डेपोर्टिभो अलाभेस स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको हाे।
खेलको ५८ औं मिनेटमा भिक्टर लागुआरडियाको क्रसमा टोमास पिनाले गरेको गोल नै निर्णायक सावित भएको थियो । खेल सुरु हुनुअघि छैटौं स्थानमा रहेको अलाभेसले शीर्ष स्थानमा चढ्न खोजेका अन्य टोलीभन्दा एक खेल बढी खेलेको छ ।
शनिबार नै हुने अन्य खेलमा आफू अनुकुल नतिजा निकाले अन्य टोलीले पनि शीर्ष स्थानमा कब्जा जमाउन सक्नेछन् । शनिबार हुने पहिलो खेलमा लेभान्ते र रियल म्याड्रिड भिड्दैछन् । उक्त खेल जितेमा रियल शीर्ष स्थानमा जानेछ । त्यसपछि एटलेटिको म्याड्रिड र भिलारियलको खेलमा म्याड्रिड टोली विजयी भएमा अंक तालिकामा फड्को मार्नेछ ।
दिनको अन्तिम खेलमा बार्सिलोना र सेभिल्ला भिड्दा जुन टोलीले जित दर्ता गर्छ, त्यहि टोली शीर्ष स्थानमा पुग्नेछ । निकै प्रतिस्पर्धात्मक सुरुवात पाएको यस लिग सिजनमा सबै टोलीले कम्तिमा एक हार बेहोरिसकेक छन् ।