१८ माघ (एजेन्सी) : स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल म्याड्रिड र डिफेन्डिङ च्याम्पियन एथलेटिको म्याड्रिड विजयी भएका छन् ।
शनिबार राति भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई ४–१ ले हरायो । खेलको पहिलो मिनेटमा एलुस्तोन्डोले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए । तर दुई मिनेटपछि जेम्स् रोद्रिगेजले बराबरी गोल फर्काए । सर्जियो रामोसले ३७ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए । करिम बेन्जिमाले ५२ औं र ७६ औं मिनेटमा गोल गरेपछि रियल ४–१ ले विजयी भयो ।
एथलेटिकोले एइबरलाई ३–१ ले हरायो । एथलेटिको लागि ग्रिन्जम्यानले सातौ मिनेटमा गोल गर्दा मारियो मान्जुकिले दुई मिनेट भित्र दुई गोल गरे । उनले २३ र २५ मिनेटमा गोल गरेका हुन् ।
लिगमा २० खेलबाट ५१ अंक जोड्दै रियल शीर्ष स्थानमा छ भने दोस्रो स्थानको बार्सिलोनाको ४७ अंक छ । एक खेल बढि खेलेको तेस्रो स्थानको एथलेटिकाको पनि ४७ अंक नै छ ।