लमजुङकी एक महिलाको कुवेतमा घाँटी रेटिएको अवस्थामा भेटियो शव

783
  •  
  •  
  •  

काठमाडौं । लमजुङ बेसीशहर नगरपालिका ५ नाल्माकी एक महिलाको कुवेतमा शव भेटिएकाे छ ।
गत बुधबार कुवेतको उमरियास्थित आफ्नै निवासको शौचालय (बाथरुम) मा लक गरिएको अवस्थामा ३२ वर्षीया मनमाया गुरुङको घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो ।

उनी लामो समयदेखि कुवेतमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी आफ्नो कम्पनीले लामो समयसम्म तलब नदिएको भन्दै भागेर अवैधानिक हैसियतमा काम गरिरहेकी थिइन्। यस विषयमा सोधपुछ तथा अनुसन्धानका लागि कुवेत प्रहरीले एउटै फ्लाटमा बस्ने ओम गुरुङलाई नियन्त्रणमा लिएको थियो । तर उनलाई सामान्य सोधपुछ गरी छोडिएको छ ।

बिहीबार बिहान साढे ४ बजेतिर शौचालयको ढोका नखुलेपछि हल्लाखल्ला हुँदा मनमाया नदेखिएको र शौचालयमा कुनै आवाज नआएपछि शंका लागेर ढोका खोल्ने कसैले आँट नगरेको बुझिएको छ। अर्को पटिबाट भेन्टिलेशनको प्वालबाट चिहाएर हेर्दा रगताम्य भएर लडिरहेको देखेपछि फायर वृगेड र पुलिसलाई खबर गरी फायर बृगेड आएर ढोका फोरेर शव उठाइएको थियो।

यस विषयमा कुवेतस्थित नेपाली दूतावासमा जानकारी भैसकेको र पोस्टमार्टम रिपोर्ट समेत आइसकेको दूतावासले जनाएको छ। रिपोर्टमा, ‘घाँटीमा गहिरो चिरा परेको घाउ, रक्तश्राव र आघातका कारण मृत्यु भएको’ भनि उल्लेख गरिएको जनाइएको छ।


  •  
  •  
  •