सञ्चारकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन पक्राउ

298
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : दुई सञ्चारकर्मीमाथि कुटपिट गरेको आरोपमा बिहीबार प्रहरीले तीन जनालार्इ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम एकतप्पा घर भएका  १८ वर्षीय किशोर लिम्बू,इलाम नगरपालिका ९ का १९ वर्षीय रविन मगर र साेही ठाउँका २२ वर्षीय मनोज मगर रहेकाे जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले बताए।

उनीहरु कुटपिट गरी लुक्दा लुक्दै जंगल भित्र भाग्ने क्रममा परेका हुन्।

घटनामा संलग्न एक जना भाग्न सफल भएको प्रहरीले जनाएको छ । जिल्लाको चियाबारी एफ.एम.मा कार्यरत दुई सञ्चारकर्मी माथि गए राति ९ बजे रेडियोबाट घर फर्कदै गर्दा कुटपिट गरी लुटपाट समेत गरेको बताइएको छ ।

चियाबारी एफ.एम.का बजार व्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई इलामको गोलबस्तीको पोखरी स्कुल छेउमा रविन मगर सहितको समूहले कुटपिट गरी लुटपाट गरेको पीडितले बताएका छन्  ।

त्यस समूहले व्यवस्थापक पाठक सँग रहेको नगद ४५ हजार, र एक थान मोवाइल  लुटेको जनाइएको छ । त्यस्तै प्राविधिक न्यौपानेसँग रहेको सुनको सिक्रीसमेत त्यो समूहले लुटेको बताइएको छ ।

कुटपिटबाट सामान्य घाइते भएका न्यौपाने सामान्य उपचारपछि घर फकाइएको छ भने पाठकको अवस्था गम्भीर रहेको छ । पाठकको दाहिने हात, टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । पाठकको  झापाको विर्तासिटी अस्पतालमा उपचार भैरहेको छ ।

घटनापछि कृष्णका बुबा नारदमणि पाठकले आक्रमणकारी रविन मगरसहितको समूहलाई कारवाही, पीडितको उपचारलगायतका माग राख जिल्ला प्रहरी कार्यालय इलाममा किटानी जाहेरी दिनु भएको छ ।

चियाबारी एफ.एम.ले एक विज्ञप्ति निकाल्दै दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशासन समक्ष माग गरेको छ । रेडियोका स्टेसन म्यानेजर प्रेम अधिकारीद्वारा निकालिएको विज्ञप्तिमा कुटपिट र लुटपाटको घटनापछि रेडियोमा काम गर्ने सञ्चारकर्मीहरुले स्वतन्त्र रुपमा काम गर्न पाउने वातावरण समेत खलबलिएको जनाइएको छ ।

एफ. एम.ले पीडितलाई न्याय दिइ दोषीलाई कडा कारवाही गर्न माग गर्दै सञ्चारकर्मी र सञ्चारमाध्यममाथि भएको आक्रमणको घोर भर्सना र निन्दासमेत गरेको छ ।


  •  
  •  
  •