कुशकुमारले सुरुङमार्गबाट राजीनामा दिनुका पाँच कारण

292
  •  
  •  
  •  

काठमाडौं १९ माघ(ओएनएस) : नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको अध्यक्षबाट कुशकुमार जोशीले राजीनामा दिएका छन् । कम्पनीका संस्थापक अध्यक्ष जोशीले आइतबार सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् । काठमाडौँ–हेटौँडा सुरुङमार्ग निर्माणका निम्ति आवश्यक वित्तीय स्रोत जुटाउन नसकेको आरोप उनले खेप्दै आएका थिए । पछिल्ला केही महिनायता सञ्चालक समितिमै पनि उनीमाथि कम्पनीको नेतृत्व छाड्न दबाब बढिरहेको थियो । अन्ततः किन गरे उनले राजीनामा ? सञ्चालक समिति र अन्य सरोकारवाला पक्षहरुसँगको कुराकानीका आधारमा उनले राजीनामा दिनुपर्ने प्रमुख कारण यसप्रकार देखिए–

१. राजनीतिक दबाब
बाबुराम भट्टराई प्रधानमन्त्री छँदा तत्कालीन उद्योग वाणिज्य महासंघका अध्यक्षका हैसियतले जोशीले निकट रहेर काम गरे । भट्टराईले पनि आफ्नो कार्यकाल सफल बनाउन निजी क्षेत्रको साथ लिने र खुसी पार्ने विभिन्न उपाय अपनाए । त्यसैअन्तर्गत नेपालमै पहिलोपल्ट बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) प्रणालीअनुसारको योजना निजी क्षेत्रलाई दिए । त्यो पनि उद्योग बाणिज्य महासंघकै नेतृत्वलाई । त्यसैले यो सुरुदेखि नै विवादित भइरहेको थियो । त्यसबाट असन्तुष्ट पक्षहरू हेटौँडादेखि सिंहदरबारसम्मै थिए । उनीहरू संगठित र एकीकृत हुन केही समय लाग्यो । त्यसपछि सरकारहरू छिटोछिटो परिवर्तन भए । संविधानसभाको निर्वाचनले शक्तिसन्तुलन नै हेरफेर गरिदियो । खासगरी नेकपा एमाले सत्तामा आएपछि त्यो बढी प्रभावी भयो । यो दबाब खेप्न जोशीले सकेनन् ।

२. हेटौँडा भर्सेस हेटौँडा
सुरुङमार्ग बनाउनुपर्छ भन्ने भावना र विश्वासले १ हजार ७ सयभन्दा बढी सेयरधनीले यसमा लगानी गरेका छन् । यीमध्ये धेरैजसो हेटौँडाभन्दा बाहिरका छन् । यो परियोजना बन्ने अवस्थामा भने सबैभन्दा धेरै लाभग्राही हेटौँडा क्षेत्र हुनेछ । तर, अहिले यस्तो परिस्थिति सिर्जना गरिएको छ कि हेटौँडाभित्रै दुईटा हेटौँडा देखिएका छन् । एक, हालको नेतृत्व फालेर जसअपजस हेटौँडाकै राजनीतिक एवम् व्यापारिक वृत्तले पाउनुपर्छ भन्ने । त्यसका लागि हेटौँडाकै स्थानीयवासीहरूलाई उचालिएको छ र उनीहरू भन्दैछन्, सहकारी शैलीमा जसले जति रकम हाले पनि एक सेयरधनी एक भोटका आधारमा नेतृत्व चयन हुनुपर्छ । त्यसैगरी हेटौँडामै अर्को यस्तो जमात छ, राजनीतिक जसअपजसलाई छाडेर वित्तीय स्रोत जुटाएर परियोजना छिटो सम्पन्न गर्नुपर्छ । हेटौँडाभित्रैको यो झगडाले परियोजना अन्योलको अँध्यारो सुरुङमा प्रवेश गरेको छ ।

३. जोशी भर्सेस सुमार्गी
हेटौँडाको एउटा राजनीतिक र व्यापारिक वृत्तले जोशीको विकल्पमा प्रचण्ड निकट मानिने व्यापारी अजेयराज सुमार्गीलाई अघि सारिरहेको छ । अनौठो पक्ष के छ भने एमाओवादीनिकट सुमार्गी र एमालेका नेता–कार्यकर्ताको मुख मिलेको छ यसमा । सुमार्गीकै आडमा जोशीविरुद्धका विभिन्न संघर्षका कार्यक्रम भइरहेका छन् । स्रोतअनुसार, अब वित्तीय स्रोत जुटाउने कामको जिम्मा आफूले लिने वचन सुमार्गीले दिएका छन् ।

४. जोशीका आफ्नै कमजोरी
जोशीले यसबीचमा कम्पनीको लागि वित्तीय स्रोत जुटाउन देशविदेश चहारे । तर, यसमा सफल भएनन् । भट्टराईपछिका कुनै पनि सरकार उनलाई दाहिना भएनन् । नीतिगत सुधार, ऐननियम संशोधन र ग्यारेन्टी बस्नेसम्मका काममा सरकारले सहजीकरण गर्न सकेन । जोशीले पनि कार्यालयमा आफ्नै छोरीदेखि आफन्तहरूलाई जागिर लगाउनेजस्ता स–साना स्वार्थहरू पूरा गर्न खोजे । त्यसले विरोधीहरूलाई मलजल पुग्यो र उनको आफ्नै नैतिक धरातल पनि कमजोर हुँदै गयो ।

५. साधारणसभाको सहानुभूति लिने उद्देश्य
जोशी अझै पनि कम्पनीबाट पूर्णतः अलग हुने पक्षमा छैनन् । कम्पनीको वार्षिक साधारणसभा आगामी चैत २१ गते आउँदै छ । सकेसम्म उनी साधारणसभाको सामना गर्ने र त्यहीँबाट आफू रहने–नरहने विषयमा निर्णय गराउने पक्षमा छन् । साधारणसभामा आफ्नो पक्षमा बहुमत रहने उनको विश्वास छ । कम्पनीमा थोरै लगानी गरेर नाराबाजि हुलदंगाका आधारमा नेतृत्व हडप्ने खेल अन्तर्गत जोशीमाथि भौतिक र मनोवैज्ञानितक रुपमा दबाब दिइएको जोशीपक्षधरको आरोप छ । तर, साधारणसभामा भने लगानीको आकारका आधारमा मतभार गणना हुने भएकाले जोशी पुनः निर्वाचित भएर आउने सम्भावना रहेको उनका निकटस्थहरूको विश्वास छ ।


  •  
  •  
  •