कुसंस्कार र कुप्रथाको अन्त्य गर्ने संवैधानिक संकल्प : राष्ट्रपति

173
  •  
  •  
  •  

काठमाडौं, ११ जेठ(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले अँगालेका महत्वपूर्ण प्रावधानको प्रभावकारी कार्यान्वयनले महिलाको चौतर्फी विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको बताएकी छन् ।

काठमाडौं बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगौंडामा मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको शनिबार उद्घाटन गर्दै उनले भनिन्, ‘सदियौंदेखि समाजको आधारभूत तहमा जरा गाडेर बसेको गलत सामाजिक तथा सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्न अझै ठूलो परिश्रम र मिहेनत गर्नुपर्छ ।’’

राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको उनको भनाइ छ ।

स्वस्थ्य र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाज निर्माण गर्ने राज्यको लक्ष्य रहेको बताउँदै उनले मौलिक हकको रुपमा संविधानमै असहाय र एकल महिलाको लागि सामाजिक सुरक्षाको व्यवस्था गरेको बताइन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘मुलुकमा महिला उत्थान र विकासका लागि सकारात्मक विभेद नीति र कानूनसमेत तर्जुमा भएका छन्, देशमा रहेका सामाजिक र सांस्कृतिक कुरीति, कुसंस्कार र कुप्रथाको अन्त्य गर्ने संवैधानिक संकल्प छ ।’

कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक र संवैधानिक दृष्टिकोणले आधारभूत रुपमा समाजमा भेदभाव टुंगिए पनि सामाजिक, सांस्कृतिक र आर्थिक पाटोबाट भने भेदभाव अझै हट्न बाँकी नै रहेको बताए ।
सामाजिक चेतना र जागरणका माध्यमबाट समाजमा देखिएका विभेद अन्त्य गर्नेतर्फ प्रयास रहेको भन्दै यसका लागि सामाजिक अभियान चलाउनुपर्ने बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एकल महिलाको हक अधिकार र सम्मानको लागि २५ वर्षदेखि थालिएको अभियानले मुलुकभरका महिलालाई संगठित गर्न सफल भएको बताइन् ।


  •  
  •  
  •