काठमाडौं, १० मंसिर (ओएनएस) : विश्वमा पहिला पटक मृत शरीरबाट मुटु झिकेर सफलतापुर्वक प्रत्यारोपण गर्ने पहिलो नेपाली चिकित्सक डाक्टर कुमुद धिताललाई राजधानीमा सम्मान गरिएको छ । धापासीस्थित ग्रयाण्डी हस्पिटलमा सोमबार राति भएको कार्यक्रममा नेपाल मेडसिटी, ग्रयाण्डी अन्तर्राष्ट्रिय अस्पताल, मेडिकेयर अस्पताल र फुलकुमारी महतो मेमोरियल अस्पतालले संयुक्त रुपमा डाक्टर धितालको सम्मान गरेका हुन् ।
समाजसेवी तथा एनआरएनका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतो, वरिष्ठ चिकित्सक डाक्टर भगवान कोइराला, डाक्टर चक्रराज पाण्डे लगायतको उपस्थितिमा डाक्टर धितालको सम्मान गरिएको थियो । सम्मान समारोहमा स्वागत मन्तव्य राख्दैग्रयाण्डी हस्पिटलका प्रमुख कार्यकारी डाक्टर सफिक मोहमदले डाक्टर धितालको उपलब्धीका कारण समस्त राष्ट्र गौरवान्वित भएको बताए । ग्रयाण्डी हस्पिटलका मेडिकm डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले धितालको जीवनीबारे संक्षिप्त जानकारी दिँदै उहाँको उपलब्धी सबैका लागि प्रेरणाको स्रोत भएको बताए ।
वरिष्ठ चिकित्सक डाक्टर भगवान कोइरालाले धितालको दुर्लभ उपलब्धीसँगै चिकित्सा क्षेत्रमा नयाँ युगको थालनी भएको धारणा राखे । एनआरएनका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोले मुलुक सहि बाटोमा र्गमा हिडिरहेकाले विदेशमा रहेका चिकित्सकलाई स्वदेश फर्केर कार्य क्षेत्रमा खट्न आग्रह गरे । डाक्टर कुमुद धितालले परिवार तथा सहकर्मीको सहगोगबाट नै आफुले यस्तो उपलब्धी हासिल गर्न सकेको भन्दै अब कृत्रिम माशंपेशीबाट मानव अगंको निर्माण टाढा नरहेको धारणा राखे ।
सोही अवसरमा डाक्टर रतन झाले भैसिपाटीमा निर्माणाधिन नेपाल मेडिसेटीको बारेमा जानकारी दिँदै मेडिसिटीको सेवा सुरु भएसँगै नेपालमा विश्वस्तरको अर्को चिकित्सा सेवा सुरु हुने बताए । हेल्थ कन्सर्नका प्रमुख कार्यकारी डाक्टर सुवास प्याकुरेलले नेपालको चिकित्सा सेवालाई सहज र प्रभावकारी बनाउन आफनो संस्थाले गरिहेको कामको बारेमा जानकारी दिए ।
यसैबीच ग्रान्डी अस्पतालले पहिलो पटक हेल्थ कन्सर्नसँग मिलेर हस्पिटल्स नेपाल एप मार्फत एसएमएसबाट डाक्टरको समय लिने सेवा सुरु गरेको छ । यो सेवाको डाक्टर कुमुद धिताल, डाक्टर उपेन्द्र महतो र डाक्टर भगवान कोइरालाले संयुक्त रुपमा थालनी गरेका थिए । यो एप मार्फत अब ग्रान्डी अस्पतालको कुनै पनि चिकित्सकको समय लिन सकिने छ । एप एन्ड्रोइड प्लेटफर्ममा २३ हजार र आइओएसमा ४ हजार पटक डाउनलोड भएको छ ।
यस एपमा नेपालभरीका ३ हजार भन्दा बढी चिकित्सक, २ सय २० भन्दा बढी अस्पताल र १ सय ६० भन्दा बढी एम्बुलेन्सको विवरण राखिएको छ । कार्यक्रममा एप निर्माणमा संलग्न युवा प्रतिभा विजय प्रकाश कँडेललाई सम्मान गरिएको थियो । कँडेलले सहकर्मी नागेन्द्र घिमिरेसँग मिलेर एप निर्माण गरेका थिए । घिमिेर अहिले उच्च शिक्षा लिने क्रममा भारतमा छन् ।