काठमाडौं २० साउन (ओएनएस) : युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामाको मुद्दाको सुनुवाइ सकिइएको छ। लन्डनस्थित कोर्ट अफ अपिलमा गत मंगलबार अन्तिम सुनुवाइ भएको नेपाली दूतावास लन्डनस्रोतले बतायो। मार्चको अन्तिम सातादेखि सुरु भएको सुनुवाइको अन्तिम दिन अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदीले बहस गरेका थिए।
स्रोतका अनुसार प्राध्यापक सुवेदीले ६ घन्टा लगातार बहस गरेका थिए। उनले युद्ध अपराधका सम्बन्धमा नेपालको विद्यमान कानुन, यसअघि लामाको पक्षमा नेपालको अदालतमा भएका फैसला र नेपालको शान्ति प्रक्रियामा भएका विभिन्न सहमति र सम्झौताबारे अदालतलाई जानकारी गराएका थिए।
दूतावासका अनुसार मुद्दाको अन्तिम फैसला यसै साता हुने अपेक्षा गरिए पनि अदालतमा सरकारी बिदा परेकाले मुद्दाको फैसला सेप्टेम्बरको दोस्रो सातासम्म सर्ने सम्भावना छ।
सुनुवाइमा विशेषगरी एउटा सार्वभौम सत्तासम्पन्न मुलुकको अदालतले गरेको फैसलालाई अर्को मुलुकले मान्यता दिनुपर्ने वा नपर्ने, यातनाविरुद्धको महासन्धिका बुँदा पालना गर्नुपर्ने वा नपर्ने, युद्ध अपराधसम्बन्धी विश्वव्यापी सन्धिको पालना गरेको वा नगरेको भन्ने विषयमा बहस भएको थियो।
सशस्त्र द्वन्द्वकालमा मानवअधिकार हनन गरेको अभियोगमा लामालाई गत वर्षको जनवरी पहिलो साता बेलायतमा पक्राउ गरिएको थियो। सुडान मिसन प्रमुख रुपमा कार्यरत लामा बेलायतमा रहेकी श्रीमती भेट्न आएका बेला मेट्रो पोलिटन पुलिसले उनलाई पक्राउ गरेको थियो। पछि धरौटीमा छोडेको भए पनि उनी आफ्नै घरमा बसेर मुद्दा लडिरहेका छन्।
लामामाथि सन् २००५ मा गोरुसिङ्गे ब्यारेकमा कार्यरत रहँदा जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको आरोप छ। यतिबेला उनी लन्डनको इष्ट ससेक्समा श्रीमती र दुई छोरीका साथ बस्दै आएका छन्। नागरिकबाट