कुमारको हत्या नियोजित : परिवार

123
  •  
  •  
  •  

काठमाडौं । दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको षड्यन्त्रपुर्वक हत्या गरिएको दाबी गरेको हो ।
यही असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा षड्यन्त्रपुर्वक हत्या भएको परिवारको दाबी छ ।

मृतक पौडेलका भाई हरिकृष्ण पौडेलले प्रहरीसंग मुठभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हातखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाए ।

उनले आफ्ना दाईको राजनितिक जीवनको बारेमा स्वयम सरकारमा रहेकाहरु पनि जानकार रहेको बताउँदै झुटा आरोप लगाएर ठाडो निर्देशनमा मारिएको बताए । ‘यदि त्यो नियोजित हत्या थिएन भने बारादेखि धनुषासम्मको प्रहरी त्यहाँ कसरी पहिल्यै आईपुग्यो’ उनले भने ।

सादा पोशाकमा रहेका प्रहरीले दाजुको हत्या गरेको जनाउँदै उनले चार ठाँउमा भाँच्चिएको हात नजिकै हतियार राखेको फोटोहरु आफुसंग प्रमाणको रुपमा सुरक्षित रहेको स्पष्ट पारे । उनले सरकारले घट्नाको बारेमा सत्य, तथ्य बाहिर ल्याउनको लागि स्वतन्त्र छानविन समिती गठन गर्न पनि आनाकानी गरेको गुनासो पोखे ।

केही समाचारमा दाईको बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापासँग चन्दा मागेका विषयमा वास्तविक कुरा नै नबुझेर गलत तरिकाले समाचार सम्प्रेषण गरिएको भन्दै उनले दुःखेसो पोखे ।

उनले सागरनाथ वन विकास परियोजनाअन्र्तगत रहेको सुकुम्बासीको बिषयलाई उठाएका कारण दाइको हत्या भएको आरोप लगाए । सरकारले थापासँग चन्दा मागेको भन्ने गलत आरोप लगाएको उनको दाबी छ ।

परियोजनाको जग्गाामा रहेका सुकम्बासी व्यवस्थित् गर्न परियोजनासंग भएको पाँच बुँदे सहमति कार्यान्वयन गराउन खोज्दा उल्टै परियोजनाले ७५ करोडको मुद्दा हालेको पनि उनको भनाई छ ।

सो मुद्दालाई अख्तियारले हेर्दे आएको र छानविन गरेर राजनीति तथा सुकम्बासीको हकहितमा बोलेको भन्दै अहिलेसम्मपनि नबोलाएको पनि उनले जनाए ।

पिरियोजनासँग भएको पाँच बुदे सहमति कार्यान्वयनको लागि आवाज उठाउँदा चन्दा आरोप लगाएर सरकारी मान्छेल ेनै आफ्ना दाजुलाई मारेकोे उनको आरोप छ ।

पौडेलकी श्रीमती कला पौडेलले पनि आफ्ना श्रीमान्लाई षड्यन्त्रपूर्वक मारेको दाबी गरिन् । छानविन समितिले स्वतन्त्र रुपमा छानबिन गरेर आफ्नो श्रीमानको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

श्रीमानलाई कुनै दबाव वा असूरक्षाको बारेमा कुनै जानकारी नभएको बताउँदै उनले भनिन्,‘श्रीमानले पनि कुनै त्यस्तो अप्ठ्यारो छ भन्ने कुरा कहिल्यै गर्नुभएको थिएन ।’ दोषीलाई कानुनी कारवाही गर्नुपर्ने अनिमात्रै आफूहरुले न्याय पाउने उनको भनाई छ ।

त्यस्तै, मृतकका भतिजा राजकुमार पौडेलले आफ्ना काका दोषी भएको भए कसरी हजारौं मानिषहरुले उनको अन्तिम संस्कारमा सहभागिता जनाए ? भन्दै रचना गरिएको षड्यन्त्रको पर्दाफास गर्न आग्रह गरे ।

त्यस्तै, मृत्तक पौडेलकी दिदी लक्ष्मी पौडेलले यातना दिएर आफ्नो भाईको हत्या गराएको दाबी गरिन् । उनले आफुहरुलाई कुनै जानकारी नै नदिई प्रहरीले पोष्टमार्टम गराएको पनि सुनाइन् ।


  •  
  •  
  •