युरोपको क्षेत्रीय संयोजक पदमा कुल आचार्यको उम्मेदवारी

400
  •  
  •  
  •  

Kul Acharyaलण्डन, ४ असोज(ओएनएस) : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य एवम् सफल व्यवसायी कुल आचार्यले संघको युरोप क्षेत्रीय संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेलाई स्वागत गर्न लण्डनस्थित नेपाली दूतावासमा बिहीबार आयोजित समारोहमा उनले उक्त घोषणा गरेका हुन् ।

एनआरएन युकेका पूर्व अध्यक्ष समेत रहेका आचार्यले गएको झण्डै एक दशकदेखि युरोपमा बसेर गैरआवासीय नेपालीहरुको मर्का, व्यथा नजिकबाट बुझेको र संघको छहारी मुनि बसेर ती समस्या समाधान गर्न सक्दो पहल गर्ने उद्देश्यले आफुले उम्मेदवारी दिन लागेको बताएका छन् । उनले आफूलाई सघाउन सबैलाई अपील पनि गरे ।

सन् २००८/०९ मा एनआरएन युकेको कार्यसमितिमा सदस्यको रूपमा रहेर काम गरेका आचार्यले सन् २००९/११ मा एनआरएन युकेको उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक भएर काम गरेका थिए । त्यसबेला उनकै संयोजनमा माइती नेपालका लागि रकम संकलन गरेर पठाइएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कल्याणकारी तथा मानवीय मामिला समितिको सहअध्यक्ष भएर काम गरिसकेका आचार्यले विद्यार्थीहरुका समस्या हुन् वा न्याय र समानताकालागि भूतपूर्व गोर्खाहरुले थालेको अभियान, सबैमा गैरआवासीय नेपाली संघको एक सिपाहीको रुपमा सँधै हातमा हात मिलाएर, काँधमा काँध मिलाएर अघि बढ्दै आएको स्मरण गरे ।

“युरोपमा बिचल्ली बनाएका नेपालीहरुदेखि विभिन्न पेशा, व्यवसाय तथा बौद्धिक क्षेत्रमा विशिष्ट स्थान बनाएर काम गरिरहेका कैयौं नेपालीसँग मैले संगत गरेको छु। यहाँ बस्ने नेपालीहरुको समस्या मैले नजिकबाट बुझेको छु । युरोपका विभिन्न मुलुकहरुमा यद्यपी कायम रहेको आर्थिक मन्दी, आप्रवासी समुदायप्रति बढ्दो रोष तथा अधिकांश पहिलो पुस्ताको प्रवासी नेपाली समुदायले भोग्नु परिरहेका समस्याहरुलाई गैरआवासीय नेपाली अभियानको छाता मुनि रहेर समाधान गर्न सक्दो प्रयास गर्ने उद्देश्य लिएर मैले संघको युरोप क्षेत्रीय संयोजकको पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ”, आचार्यले भने ।

उनले बेलायतमा बसोबास गरिरहेका हजारौं भूतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवारजनको समस्याहरुको छिटो छरितो समाधानका लागि आफूले विगतमा पनि पहल गरेको र आगामी दिनमा पनि सक्दो प्रयास गरिरहने बताए ।

उनले युरोपमा बसोबास गरिरहेका नेपालीहरुसँग रहेको क्षमता, सीप र पूँजी नेपालमा लगानी गर्ने वातावरण बनाउन पहल गर्ने तथा प्रवासमा नेपाली भाषा, संस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली समुदायको गौरवपूर्ण पहिचान जोगाइराख्न योजनावद्धरूपमा अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

“एक पटकको नेपाली सधैंको नेपाली नारालाई सार्थक बनाउन नेपालमा बन्न लागेको नयाँ संविधनानमा पूर्ण अधिकार सहितको नेपाली नागरिकताको निरन्तरताका लागि पहल गर्नुका साथै गैरआवासीय नेपाली अभियानमा संलग्न युवा, महिला, जनजाति लगायतका सदस्यकहरुको हकहित सुरक्षित गरी उहाँहरुको उर्जा रचनात्मक दिशामा लगाउन सँधै सहयोगी भूमिका निर्वाह गर्नेछु”, उनले भने ।


  •  
  •  
  •