काठमाडौं । कास्कीको पाखेरा महानगरपालिकाले घरमा पालेको कुकुरलाई जथाभावी दिसा पिसाव गराए पाँच हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।
महानगरपालिकाको वडा नं १९ का वडाअध्यक्ष शोभा मोहन पौडेलले एक सूचना निकालेर महानगरपालिकाको वडा नं १९(साविक लामाचौर १ देखि ५) सम्म पालेका कुकुरलाई बाटोमा दिसा पिसाव नगराउन आग्रह गरेका हुन् ।
यदि कसैले घरमा पालेका कुकुरलाई जथाभावि दिसा पिसाव गराए पाँच हजार रुपैयाँ जरिवाना गर्ने जनाइएको छ ।
कुकुरलाई बाटोमा दिसा पिसाव गराउँदा वातावरण प्रदुषण र आवाज जावतमा समेत असर गरेको महानगरपालिकाले जनाएको छ ।
एक अध्ययनअनुसार एउटा कुकुरले वर्षको औशत २७४ पाउन्ड (१ लाख २४ हजार २८४ ग्राम) दिसा गर्छ । कुकुरको एक ग्राम दिसामा २ लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् ।
एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिने जानकारको भनाइ छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्ने बताइन्छ ।
कुकुरको शौचबाट आउने ब्याक्टेरियाले मानिसलाई गम्भीर प्रकारको रोग लाग्ने चिकित्सक बताउँछन् ।
