प्रचण्डलाई भनें- इन्द्रको आसन पनि चाहिएन

282
  •  
  •  
  •  

काठमाडौं ३० साउन ।
मेरिकाको न्युयोर्कमा एक कार्यक्रममा भाग लिन पुगेका श्रीमान र श्रीमती कार्यक्रमस्थलसम्म पुग्दा थकित र असिनपसिन भए। श्रीमानले खुइऒ्ढय गर्दै पसिना पुछे। श्रीमतीले भनिन्, ‘त्यसबेला तीन महिना बाँकी भएको जागिर माया मार्न सकेको भए अहिले यही अमेरिकाको राजदूत भएर झन्डावाल गाडीमा होटलसम्म सररर पुगिन्थ्यो, तपाईंकै मूर्खताले गर्दा यत्रो दुःख पाइयो।’

तर त्यही तीन महिनाको जागिर त्याग नगर्ने अठोटले देशको राजनीति नै कोल्टे फेरियो।
ओखलढुंगाको एक साधारण परिवारमा जन्मिका रुकमांगद कटवाल नेपाली सेनाका प्रधान सेनापति मात्र बनेनन्, आधुनिक नेपालका चर्चित र राजनीतिक मोड
बने। नेपाली सेनाको प्रधान सेनापतिबाट अवकाश भएको यत्रो वर्षपछि बिहीबार निस्केको उनको आत्मकथाको विमोचन समारोहमा आएका अतिथिहरूलाई प्रकाशन संस्था नेपालयको प्रेक्षालयमा उभिनसमेत ठाउँ भएन।
पत्रकार किरण भण्डारीद्वारा लिखित तथा नागरिक दैनिकका सहायक सम्पादक सुदीप श्रेष्ठद्वारा सम्पादित रुकमांगद कटवालको आत्मकथा विमोचन समारोहमा बिहीबार आफ्नो जीवनीका विषयमा लेखिएको यस पुस्तकबारे बोल्दै पूर्व प्रधान सेनापति कटवालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधान सेनापतिबाट राजीनामा दिए न्यूयोर्क वा भनेको ठाउँमा राजदूत बनाइदिने प्रलोभन दिएको संस्मरण सुनाए। त्यतिबेला प्रचण्डलाई उनको जवाफ थियो, ‘राजदूत त के, इन्द्रको आसन दिए पनि चाहिएन।’
तत्कालीन एनेकपा माओवादीको सरकारले कुनै पनि मूल्यमा कटवाललाई प्रधान सेनापतिबाट अवकाश दिने निर्णय गर्योा र उनलाई अवकाशपत्र पनि थमायो, तर राष्ट्रपतिले उक्त निर्णय उल्टाइदिए। प्रचण्डले सरकारबाट राजीनामा दिए। नेपालको राजनीतिक पथ मोडियो।
आफ्नो आत्मकथा विमोचनका अवसरमा पत्रकार अमित ढकालद्वारा उक्त पुस्तकका विषयमा सोधिएका प्रश्नका जवाफ दिँदै कटवालले आफू पुस्तकमा एक हदसम्म इमानदार भएको र पुस्तक प्रकाशित गर्न कुनै प्रकारको दबाबमा नपरेको दाबी गरे। आत्मकथाका नायक इमानदार हुँदैनन् भनिन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘मैले आफैंलाई के भन्नू, किताब पढेका दुईजनाले आज बिहानै फोन गरेर हप्काए, २६ जना सभासद मनोनयन गर्ने बेला छ, राजदूत नियुक्तिको चर्चा छ। तपाईंले फेरि किताब लेखेर बाटो काट्नुभयो भने।’
विमोचन समारोहमा पनि कटवालले आफ्ना कुरा प्रस्टसँग राख्न हिचकिचाएनन्। उनले भने, ‘प्रधानमन्त्रीले आफूलाई गर्न लागेको बर्खास्तगीका विषयमा ‘आफ्ना मान्छे’ बाट सूचना पाउने गरेका थिए। त्यसैले प्रधानमन्त्रीसँग अन्तिम दिन कुरा गर्न जाँदा थुन्छन् कि भनेर आफ्नो जत्था ‘अलर्ट’ राखेको चर्चा गरे। उनले त्यतिबेला आफूलाई बन्धक बनाउन खोजे भने जबर्जस्ती छुटाउन आदेश दिएको सुनाए।
‘मेरो सेकेन्डम्यान छत्रमान गुरुङलाई मेरो बाहेक कसैको आदेश नमान्नू भनेँ। प्रधानमन्त्री क्वार्टर गएका सेनालाई १० मिनेटमा मलाई नदेखे ढोका तोडेर रेस्क्यु गर्न आउने आदेश दिएँ,’ उनले भने।
पत्रकार ढकालले किताबमा उल्लेख दर्जनौं रोचक प्रसंगको चर्चा गर्ने क्रममा प्रचण्डसँग पटक–पटक डिनर गरेको कुरा उठाउँदै प्रश्न गरे, ‘त्यो डिनरमा के कुरा हुन्थ्यो?’ जर्नेल कटवालको जवाफ सीधा थियो, ‘तराई, राजसंस्था, आर्मी र शिविरमा रहेका साना भाइबहिनी।’
उनले जीवनको ‘टर्निङ प्वाइन्ट’ का रूपमा राजा महेन्द्रको पूर्वाञ्चल भ्रमणको स्मरण गरे। त्यहीँ महेन्द्रको आँखामा परेका कटवालले भने, ‘तीन दिन संघर्ष गरेपछि राजासँग भेट्न पाएँ। कतिपल्ट सेनाले कठालो समातेर बाहिर निकालेका थिए। निधारमा एकपल्ट लेखे’सि लेख्नेले पनि मेट्न सक्दैन भनेको यही होला।’
२०५९ माघ १९ मा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि संवैधानिक राजतन्त्रमा मिडियाबाट सहयोग नपाएको निष्कर्ष निकाल्दै १६ करोड लगानीमा ‘ठूलो सञ्चारगृह’ चलाउने परिकल्पना गरेको प्रसंग पनि उनले उप्काए।
‘१६ करोडको सञ्चारगृह कत्रो हुन्थ्यो?’
‘रेडियो, टिभी र पत्रिका चलाउने। नाफा नभए पनि राजसंस्था र प्रजातन्त्रका पक्षमा काम गर्ने। तर, पछि पैसा जुटाउन नसकेकाले काम अघि बढेन,’ उनले जनकारी दिए।
कार्यक्रमको सुरुमै कटवालका विषयमा बोल्दै पुस्तक लेखनमा सहकार्य गरेका पत्रकार किरण भण्डारीले राजसंस्थाप्रति कटवाल कृतज्ञ हुन् कि कृतघ्न, मेसो पाउन नसकेको सुनाए। कटवाललाई उनले सेनालाई सधैँ मुकुटमा राख्ने व्यक्तिका रुपमा व्याख्या गरे। कटवाललाई ‘वनको फूल’ बताउँदै भण्डारीले भने, ‘त्यो फूललाई मेनस्ट्रिममा राख्ने संस्था (राजसंस्था) सँगै कटवालको द्वन्द्व हुने परिस्थिति आउँदा कटवाल जनताको परिवर्तनको चाहनाअनुसार भूमिका निर्वाह गर्छन्।’
नागरिकबाट


  •  
  •  
  •