पाँच महिनामै मुलुकभरका नगर-सडकमा सौर्य बत्ती

144
  •  
  •  
  •  

काठमाडौं १८ माघ ।
सरकारले मुलुकभरका सबै नगरका सडकहरुमा सौर्य बत्ती बाल्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले करिब १० हजार पोलहरु राखेर सात सय १० किलोमिटर सडक झिलिमिली पार्ने महत्वाकांक्षी योजना अघि सारेको हो ।

यो कार्यक्रम सम्पन्न भएलगत्तै सरकारले सबै गाउँ विकास समितिहरुमा पनि सौर्य सडक बत्ती राख्ने भएको छ ।स्थानीय विकास मन्त्री कमल थापाले सबै नगरपालिकाका सडकमा सौर्य सडक बत्ती बाल्ने कामको थालनी गरेको बताए ।

‘मन्त्रिपरिषद्बाट निर्णय गराई सौर्य सडक बत्ती अभियानका रुपमा अघि सारेका छौं । लामो समयदेखि लोडसेडिङ र उर्जा संकटका कारण विकल्प खोजिएको हो’, मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘चालु आर्थिक वर्षभित्रै सात सय १० किलोमिटर नगर सडकमा करिब १० हजार पोलहरु राखी सौर्य सडक बत्ती बाल्नेगरि योजना सुरु गरेका छौं ।’

सात सय १० किमि सडकलाई दुई अर्ब
उनले यसका लागि सरकारले एक अर्ब र स्थानीय निकायहरुले ४२ करोड रुपैयाँ खर्चिने बताए । यसबाहेकको रकम स्थानीय बासिन्दाले गर्नुपर्नेछ ।

जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रमअन्तर्गत महानगरपालिकामा सरकारले ६० प्रतिशत, काठमाडौं महानगरपालिकाले २५ प्रतिशत र स्थानीय जनताले १५ प्रतिशत खर्च व्यहोर्ने छन् ।

उपमहानगरपालिकाहरुमा सरकारले ६५, उपमहानगरपालिकाले २० र स्थानीय जनताले १५ प्रतिशत खर्च व्यहोर्ने छन् । यसैगरी, नगरपालिकामा सरकारले ७०, नगरपालिकाहरुले १५ र स्थानीय जनताले पनि १५ प्रतिशत खर्च व्यहोर्ने छन् । सरकारले विद्यालय, अस्पताल लगायतका संस्था र क्षेत्रलाई महत्व दिएको छ ।

मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भटराईले देशभरका सार्वजनिक स्थलहरु झिलिमिली बनाइने जानकारी दिँदै अन्नपूर्णसँग भने, ‘सहरी सौन्दर्य बढाउन यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

उनका अनुसार अब कार्यक्रम कार्यान्वयनपछि राष्ट्रिय प्रसारण लाइनबाट सञ्चालित होलोजिन बत्ती, सिएफएल ल्याम्प, भ्यापर ल्याम्प लगायतका बत्तीलाई सौर्य सडक बत्तीका माध्यमबाट क्रमशः प्रतिस्थापन गर्दै जानेछ ।

मन्त्रालयको नगरपालिका व्यवस्था महाशाखाका प्रमुख गोपीकृष्ण खनालले स्थानीय निकायलाई सौर्य सडक बत्तीका लागि सरकारले सशर्त अनुदान प्रदान गरेको जानकारी दिए ।

‘यसलाई सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडेलका रुपमा अघि सारिएको छ’, उनले भने, ‘सहजताका लागि कुनै कम्पनी, संघसंस्था आदिलाई विज्ञापन राख्न दिएर पनि सडक बत्ती राख्ने दिइनेछ ।’

उनले कम्तिमा २० वर्ष टिक्ने सौर्य पाता र पाँच वर्ष टिक्ने ब्याट्री, दुई वर्ष टिक्ने चार्ज कन्ट्रोलर र दुई वर्ष पुग्ने सौर्य बत्ती राख्ने तयारी भइरहेको पनि जानकारी दिए ।

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •