दुई वर्षमा पनि बनेन चार किमी सडक

208
  •  
  •  
  •  

काठमाडौं २८ मंसिर । सिनामंगलदेखि भीमसेनगोला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार हुँदै पुतलीसडकसम्मको सडक विस्तार हुन थालेको दुई वर्ष पुग्न लाग्यो । तर, अहिलेसम्म यो सडकमा ग्राभेलसमेत हुन सकेको छैन । भीमसेनगोलादेखि पुरानो बानेश्वरतर्फ अहिले मोटर नै चल्दैन । यत्रतत्र माटोका थुप्रो र ढलको पानी फुटेर हिलाम्मे हुँदा बाटो बन्द नै छ । परिणाम सो सडकमा आजभोलि सवारीसाधन गुडाउन त कता हो कता, बटुवासमेत हिँड्न मुस्किल पर्छ ।

केही समयअघि उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले भीमसेनगोला–सिनामंगल सडकखण्डको अनुगमन निरीक्षण गरे । सो क्रममा उनले चाँडोभन्दा चाँडो सडकखण्ड सञ्चालन गर्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई निर्देशन पनि दिए । तर, उनको निर्देशन कार्यान्वयनमा आउने अवस्था छैन । हालसम्म पनि सो सडक सञ्चालन हुन सकेको छैन ।

पुरानो बानेश्वरदेखि सेतोपुल, मैतीदेवी, डिल्लीबजार हुँदै पुलतीसडकसम्मको बाटोको हालत पनि उस्तै छ । बानेश्वर हाइटतिरको कुनाबाट निस्केको पानी सडकमाथि बग्ने गरेको छ । जसले सेतोपुल आसपासका सडक हिलाम्मे भएका छन् । त्यस्तै, मैतीदेवी क्षेत्रमा पनि ठाउँठाउँमा ढलको पानी बाहिर निस्कँदा सडक आहालजस्तो भएको छ । मैतीदेवी चोकदेखि डिल्लीबजारसम्मको सडक पनि हिँडिनसक्नु छ । ढलको पानी पनि सडकमा आउने गरेपछि स्थानीयवासीले निकै सास्ती खेप्नुपरिरहेको छ । डिल्लीबजारदेखि पुतलीसडकसम्म तुलनात्मक रूपमा केही बढी काम भएको देखिन्छ । यसैगरी, ज्ञानेश्वर चोकदेखि मैतीदेवी चोकसम्मको बाटोमा पनि सवारी साधन गुड्न मुस्किल हुने गरेको छ । निर्माणका नाममा भत्काइएको सडक बनाउन कसैले चासो दिएका छैनन् । दसैंअगावै सकिनुपर्ने सो सडकखण्ड बनाउन ठेकेदार कम्पनीले समेत चासो नदिएको स्थानीयवासीको गुनासो छ । मैतीदेवी मन्दिर दर्शनका लागि दैनिक पुग्ने यात्रुसमेत सडकको दुर्गतिले हैरान भएका छन् ।

काठमाडौं उपत्यकामा तीन वर्षअघि सुरु भएको सडक विस्तार कुन गतिमा भइरहेको छ ? भन्ने गजबको उदाहरण बनेको छ, सिनामंगलदेखि पुलतीसडकसम्मको यो सडकखण्ड । सडक विस्तार अभियानपछि ‘धुले सहर’को परिचय बन्दै गएको काठमाडौं उपत्यकामा धुलोबाट चाहिँ उपत्यकावासी वाक्कदिक्क नै भइसकेका छन् । त्यसमाथि सरोकारवाला सरकारी निकायहरूले गम्भीरतापूर्वक आ–आफ्नो जिम्मेवारी पूरा नगर्दा सडक निर्माण ढिला भइरहेको छ, जसले गर्दा सडकमा बढ्ता धुलो उडिरहेको छ ।

सिनामंगलदेखि पुलतीसडकसम्मको ३ दशमलव ८ किलोमिटर सडक निर्माणको जिम्मा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले लिएको थियो । ठेक्का सम्झौता गरेको समयभित्रै सडक निर्माणका लागि सरकारले ताकेता पनि दिँदै आएको छ । तर, सडक निर्माणसम्बन्धी सरकारी निकायले पटक–पटक समय नै तोकेर सडक बनाउने प्रतिबद्धता जनाए पनि काम भने हुन सकेको छैन । आयोजनाका प्रमुख प्रभातकुमार झाले सार्क सम्मेलनअघि मात्रै गत कात्तिक मसान्तभित्रै डिल्लीबजार क्षेत्रको सडक ग्राभेल हुने र मंसिरभित्र कालोपत्रे गरिने बताएका थिए । तर, अहिले पनि त्यहाँ ग्राभेल गरिएको छैन । आयोजना प्रमुख झा मेलम्ची खानेपानी परियोजनाले गर्दा सडक निर्माणमा ढिला भएको बताउँछन् । झाले विद्युत्का पोल, खानेपानीको पाइप र ढल निर्माणले पनि समयमा सडक बन्न नसकेको बताए । ‘हाम्रो काम भनेको सडक बनाउने मात्र हो,’ पुरानो बानेश्वरदेखि भीमसेनगोलासम्मको सडकको दुरवस्थाबारे उनले भने, ‘हामीले त वर्षायामको पानी बगेर जाने ड्रेन मात्र बनाउने हो तर स्थानीयवासीले वर्षायामको पानी पनि ढलमै मिसाएर पठाउने माग गरेपछि सडकको डिजाइन नै परिवर्तन भयो । जनताको माग सम्बोधन गर्दा ढिला भएको हो ।’

सिनामंगलदेखि पुतलीसडकसम्म आयोजनाले चार खण्ड गरेर सडक निर्माणका लागि ठेक्का दिएको थियो । जसमध्ये सिनामंगल–पुरानो बानेश्वर–सेतोपुल र कालिकामोड–पुतलीसडक चाँडै निर्माण हुने उनले बताए । ‘कालिकामोड–पुतलीसडक यही महिनाभित्र बन्छ,’ झाले राजधानीसँग भने ।

आयोजनाले पुतलीसडक चोकदेखि बागबजार हुँदै रत्नपार्कसम्मको सडक र मैतीदेवी चोकदेखि कालिकामोडसम्मको सडकचाहिँ भर्खरै ठेक्का लगाएको छ । ठेक्का सम्झौताअनुसार चालू आर्थिक वर्षभित्र दुई ठाउँकै काम पूरा हुनुपर्नेछ ।

आयोजनाका पूर्वप्रमुख श्याम खरेलका अनुसार पुतलीसडकदेखि डिल्लीबजारको कालिकास्थान मोडसम्मको सडक गत जेठ महिनामै सक्नुपर्ने हो । त्यस्तै, सेतोपुलदेखि पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगलसम्मको सडक १८ महिनाभित्र सक्ने सम्झौता गरिएको थियो । सुरुको सम्झौतादेखि गत असारमा सो अवधि पूरा भएको थियो । तर, काम पूरै बाँकी छ । यहाँसम्म कि अहिले पनि पुरानो बानेश्वर आसपासमा घरहरू भत्काउन सकिएको छैन ।

सडक मापदण्डमा पर्ने घरको अध्ययन गरी क्षतिपूर्ति दिने र सडक निर्माणका लागि खाली गरिदिने जिम्मा लिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले नै काम गर्न सकेको छैन । ‘थुप्रै घर भत्काउन बाँकी त छन्,’ प्राधिकरणका उपप्रमुख भाइकाजी तिवारी भन्छन्, ‘तर, हाम्रो कारण सडक विस्तारमा ढिला भएको होइन ।’ सडकको पोल सार्ने, बनाउने, खानेपानीको पाइप राख्ने, फुटपाथ बनाउने सबै काममा ठेकेदारहरूबाट समेत ढिलाइ भइरहेको उनको भनाइ छ ।

आयोजनाले ठेकेदारको सुविधाका लागि गत जेठमा सक्नुपर्ने कामको समय थप गरेर आगामी फागुनसम्म पु¥याएको छ भने गत असारमा सक्नुपर्ने कामलाई आगामी १० असार २०७२ सम्मको समय दिएको छ । तर, आयोजना प्रमुख झाले समय थप गरेर आगामी फागुनमा सक्ने गरी सम्झौता गरिएको कालिकामोड–पुतलीसडक यही महिनाभित्र सकिने बताए । ‘कालिकामोड–पुतलीसडक यही महिनाभित्र बन्छ,’ उनले भने । राजधानीबाट


  •  
  •  
  •