युवती बेचिने एउटा खाल्डो

285
  •  
  •  
  •  

काठमाडौं १७ भदौ ।
काठमाडौं खाल्डो, जो जूनकीरीको पैतालामा लम्पसार छ। जेनेरेटरको टुटटुट टुटटुट आवाजले खलबलाउँदै छ घरिघरि। सुनसान छ काठमाडौं। मस्त सुतेको प्रतीत हुन्छ। कति बेला टिँटिँ गर्ने गाडीका हर्न झिँजो गर्दैछन्। कानका जाली फुट्लान्जस्तै हुँदै छ। नत्र मस्ती छ। रमाइलो र शान्त छ। रात्रिकालीन मेरो काठमाडौं।

‘सुनेनौ? मलाई दिक्क लाग्यो क्या’, हाँसो नसकिँदै ऊ जोडले बोल्यो। जिब्रो लरखराउँदै थियो। उताबाट के भन्यो कुन्नि। गाडीको हर्नको कोकाहल।

उसले मलाई देख्ला भनेर पर्दा आधा झ्यालसम्म तानेँ। छेकिँदै सोफामा अडेस लागेँ। मदिरा मस्त छ। उसले कसलाई फोन गरेको हो यकिन भएन। नातेदार भए यसरी बोल्न नपर्ने।

जथाभावी बोल्दैछ। रक्सीको नासामा के के भन्दैछ।

उसकी स्वास्नीसँग पनि होइन होला। स्वास्नीसँग यसरी बेहोश बेहोश भएर कहाँ बोल्ला र?

हाम्रो किस्ने दाजुको रक्सी त ओहो ! भाउजू देख्नेबित्तिकै उत्रिन्थ्यो। जस्तै बेहोसी भए पनि भाउजूले बोलेपछि सतर्क भइहाल्थ्यो।

त्यस्तै हो यहाँ पनि। स्वास्नीसँग त कहाँ बोल्लान् यसरी लोग्नेहरू।

कान थापेर बसेँ। उसको चियोचर्चो गर्न थालेँ। मानौं, यति बेला म सीआईडी बनेको छु। उसका गतिविधि निगरानी गरिरहेको छु। कुनै गुप्तचर संस्थाको अधिकृतझैं। ऊ अपराधी हो र म त्यसलाई पक्राउ गर्ने दाउ हेर्दैछु। गतिविधि नियाल्दैछु।

‘यता आऊ न त’, रक्स्याहाले भन्यो।

‘कता?’, स्वास्नीमान्छेको आवाज सुनियो।

‘सुन्धारा’, यो जँड्याहाको उत्तर हो।

‘अहिले आउन सक्दिनँ’, मसिनो स्वर थियो।

‘म पनि बस्न सक्दिनँ। एक्लै निद्रा लागिराखेको छैन’, जँड्याहाले थप्यो।

उताको आवाज आयो, ‘बिउँझै बसिराख न। कसले भन्यो सुत भनेर?’

‘त्यसो भए, ठमेलतिर जान्छु। कोही त भेटिएलान्’, जँड्याहाको हठ त भयो।

‘एक घन्टा पर्ख न। एक घन्टामा आइहाल्छु’, उताको मन फेरिएको अनुमान गरेँ।

‘कहाँ छ्यौ? एक घन्टामा त थानकोटबाट पनि आउन सकिन्छ।’ जँड्याहा लरखराउँदै अलि जोडले बोल्यो।

‘यता अर्कै छ क्या’, स्वास्नीमान्छेको आवाज नसकिँदै ऊ बोल्यो, ‘अर्कै भन्नाले के हो? पैसावाला भेट्टायौ हो?’

उताबाट केही आवाज आएन। मैले नसुनेको हुँ कि ऊ नबोलेकी हो। खै ! छुट्याउन सकिनँ। सिरसिर हावाले पनि मोबाइलको आवाज टुक्राटुक्रा परेर आउँदै थियो।

‘आज मसँग पैसा छैन। मलाई पनि पैसा लिएर आइज है’, जँड्याहाले के भनेको थियो। उसको हाँसोले जवाफ फर्कायो।

मलाई केही अड्कल गर्न सजिलो भयो। यसरी बोल्ने स्वास्नीमान्छे को होली? आमा भन्नुहुन्थ्यो, अरू सबै कुरा गर्नु अर्काको चरित्रका बारेमा शंका नगर्नु। शंका गरौं कि नगरौं?

आखिर यो चरित्र भनेको के हो? चरित्रको परिभाषा के हो? चरित्र केले नाप्ने? के शारीरिक सम्बन्धले चरित्र निर्धारण गर्ने हो? कसलाई असल चरित्रको भन्ने कसलाई खराब? यसको मापदण्ड के हो? सूचक के हो? लोग्नेमान्छेले जति स्वास्नीमान्छेसँग पनि शारीरिक सम्बन्ध राख्नसक्ने। केही फरक नपर्ने। स्वास्नीमान्छेको मात्रै चरित्रको कुरा आउने। शारीरिक सम्बन्धलाई चरित्रसँग जोड्न मिल्छ र?

सम्भोग नितान्त प्रजनन प्रक्रियासँग सम्बन्धित होइन र? यो सन्तान उत्पादन प्रक्रियाका लागि होइन र? मान्छेले मोजमस्ती, एेसआराम र रोमान्सका रूपमा लिए। सन्तान उत्पादनका लागि तयार पारिएको शरीरको अंग। त्यसप्रतिको लगाम बनाइराख्न उत्तेजक बनाइदियो। यो त प्रकृतिको उपहार हो। जथाभावी प्रयोग गर्न हुन्छ र?

यही सम्बन्ध कायम राख्न समाजले विवाहको प्रचलन ल्यायो। विवाह भनेको सम्झौता हो। र, हो भावनात्मक, मानसिक, शारीरिक सम्बन्धको परिपूर्ति। नत्र जहाँतहीँ, जोसँग पनि शारीरिक सम्बन्ध राखिन्थ्यो होला, पशुझैं।

हुन त पशुपक्षीको पनि समय हुन्छ।

‘कुकुरलाई पनि कात्तिक महिना आउनुपर्छ’ भन्छन्। बाँकी एघार महिना कुकुरले पनि जथाभावी गर्दैन। नत्र पशुपक्षीको प्रजनन प्रक्रिया पनि सधैं हुनुपर्ने। त्यही भएर त मान्छे र पशुपक्षीमा फरक छ।

त्यसैले पनि सम्भोगलाई चरित्रसँग जोडेको हुनुपर्छ। समाजले मान्छेलाई बाँधेर राख्न चरित्ररूपी हतियार प्रयोग गरिएको हुनुपर्छ। तर, यो सबैका लागि समान हुनुपर्ने होइन र?

पुरुषले जति पनि स्वास्नीमान्छेसँग सुत्न हुने, स्वास्नीमान्छेको चाहिँ चरित्रसँग जोडिने? यो लोग्नेमान्छेमुखी समाजले स्वास्नीमान्छेमाथि थुपारेको नियम हो।

सामुन्नेको होटलको सातौं तला हो यो। झ्यालबाट टाउको बाहिर निकालेर फेरि जोडले करायो ऊ । कुरकुरे बैंस कटेकै छ। तीस-पैंतीसको बीचको उमेर हुनुपर्छ। सायद यो जागिरे हो। केही कामका लागि काठमाडौं आएको होला। काठमाडौं बसाइ एकदुई दिनमात्र बाँकी रहेको कुरा गर्दै थियो।

युवकले बोलेको राम्ररी सुनिँदैछ भने उताबाट युवतीको आवाज अलि मधुरो छ। अक्षरहरू चोइटिएर कानमा पुग्दैछन्। जोडजाड गरेर सग्लो अक्षर बनाउँदैछु। नदेखिने गरी झ्यालको पर्दा अलिकति खोलेँ, कान थापेँ। केही ठूलै कुरा थाहा पाउँदैछु भनेझैं।

यो ठूलो कुरा हो वा सानो कुरा हो। मलाई यकिन थाहा छैन। तराजुमा सुनझैं जोख्‍ने काम पनि गरिनँ। यत्ति हो, सुन्ने चाख लागेको छ। उनीहरूको मोबाइल संवाद रमाइलो लागेको छ, यत्ति हो। रक्सीको झोँकमै युवकले ह्यान्ड फ्री ग:यो। मलाई सुनाउन खोजेजस्तै भयो।

एक घन्टामा आउँछ्यौ, पक्‍का?

पक्का हो, आउँछु।

त्यसले मान्छ त?

‘मानिहाल्छ। योसँग दुई घन्टाको कन्ट्र्याक्टमात्रै त हो। दुई घन्टा भइहाल्यो। ऊ नुहाउँछु भनेर बाथरुमतिर गाको छ’, युवतीले बेलिबिस्तार लगाई।

‘हा… हा… हा…। साले थाक्यो होला’, जँड्याहाले अनुमान लगायो।

‘रक्सीले टिल्ल छ र झन्डै बेहोश। हलचल केही गर्दैन। दुई घन्टा भन्नुमात्रै हो। काम त केही गर्न सक्या छैन’, युवतीले सहजताका साथ फर्माई।

जँड्याहा खितखितायो। उताबाट पनि युवतीले हाँसेरै साथ दिई। केही बेर दुवै हाँसे। हाँसो त मलाई पनि लागेको थियो तर हाँसिनँ। चुपचाप सुनिरहेँ।

‘हेर, हिजो त मजै आएन। तिमीले कस्ती पठाइछौ? आज, आफैं आऊ है’, जँड्याहाले हिजोको प्रसंग निकाल्दा म पनि झस्किएँ। म अड्कल काट्दै थिएँ, आफ्नी केटी साथीसँग कुरा गर्दैछ भनेर। अहँ ! होइन रहेछ। मेरो अनुमान गलत साबित भयो।

‘कल गर्ल’सँग पो गफिँदै गरेको रहेछ। भारतको दिल्लीमा भेटिएका किशोरको याद आयो। बम्बईमा भेटिएका हर्केको याद आयो। अब बम्बई, दिल्ली, कलकत्ताले फरक पार्दैन, काठमाडौं नै व्यस्त भइसक्यो- यौनबजार र जवानी किनबेचका लागि। मान्छेका इच्छा आकांक्षा बढे।

त्यसअनुसार देश, समाज र परिवारले पाइला चलाउन सकेन। आम्दानी भएन। घरको अवस्थाले धानेन। बेरोजगार भए। भ्रष्टाचार बढ्यो। लुटपाट, चोरी, डकैतीमा मान्छे सन्तुष्ट हुन थाल्यो। मेहनत हराउँदै गयो। अनि सबैले सजिलो बाटो रोज्न थाले। जिउने बहानामा। चल्तीको बाटो लामो र कष्टकर हुँदै गयो। अनि बेचल्तीको बाटो हुइँकिन थाले। उनीहरूले पनि यही बेचल्तीको बाटो रोजे होलान्।

‘हा… हा… हा…।’ एकोरिएको रहेछु। हाँसोले झस्कायो। लाग्छ, उनीहरू मलाई पनि आफूतिर तानिरहेका छन्। त्यसैले घरि हाँस्छन्, घरि कराउँछन्। यति बेला युवतीको हाँसो सुनियो। जँड्याहाले उसलाई साथ दियो। हाँसेर। केही बेरपछि फेरि कुराकानी सुरु भयो।

‘हिजोकी कस्ती रहिछ? कुनै जोश थिएन। फुकालेको लुगाजस्तै थिई, जहाँ जसरी जे गरे पनि चुपचाप सहने’, यो जँड्याहाको आवाज हो।

जँड्याहाभित्र प्रवेश गरेको रक्सीको आवाज हो।

‘रामै्र हो। दिनभरि थाकेकी थिई। आर्मीसँग थिई दिउँसो। चारपाँचजना थिए। दुईतीन घन्टा भनेका दिनभरि लगाए।’ युवतीको स्वरमा थोरै आक्रोश मिसियो, ‘अरूलाई त ठीकै हुन्छ। आर्मी, पुलिसलाई गाह्रो हुन्छ। थेग्नै सकिन्न। घरभन्दा टाढा हुन्छन्। अझ त्यसमा चारपाँचजना मिलेर आउँछन्। मिठाई हो र? बाँडेर खाऔंला भनेर सोच्छन्। …सालेहरू !’

उसको पीडामा युवकको कुनै चासो थिएन। युवतीले भनेका कुरा उसले कति सुन्यो, कति बुझ्यो कुन्नि। सुने नसुनेजस्तो ग:यो। कुनै प्रतिक्रिया जनाएन। आफ्नै ढिपि गर्न थाल्यो।

‘राति यतै बस है?’, ऊ बोल्यो, ‘एक रात मलाई दिन सक्दिनौ?’

‘आउन त आउँछु तर एउटा सर्त छ।’ युवतीको आवाज थकित सुनियो।

‘के सर्त? भन न’, केटाको आवाज हो।

‘म थाकेकी छु। धेरै दु:ख दिन पाइन्‍न ‘, उसले सर्त राखी।

‘म पनि थाकेकै छु। सधैं सुत्ने भएकाले पो भनेको’, बनिबनाउ उत्तरजस्तो लाग्यो।

उताबाट के भनिछ, सुन्‍ने पाइनँ। गाडीको हर्नले कान खायो। ह्यान्ड फ्री भए पनि नेटवर्कको समस्या हो। घनले ढुंगाका चोइटा निकालेझैं आवाज चोइटिएर आउँदैछ। मोबाइलमा कुरा गरेको त मनै पर्दैन।

कति छिटो मोबाइल राखौं भन्‍ने हुन्छ। आज भने खुब जाँगर चलेको छ। फेरि झ्यालको आधा पर्दासम्म तन्किएँ। कान थापेँ।

‘अस्ति भन्दै थियौ है ! अर्की भरखरकी छे भनेर। त्यसलाई पनि ल्याऊ न’, जँड्याहाको आवाज लरबरायो।

‘कुन अर्की?’, यतिमात्रै सुनियो।

‘जो स्लिम छ भन्थ्यौ। त्यो कलेज पढ्ने क्या’, जँड्याहा बोल्यो।

‘कलेज पढ्ने?’, यो युवतीको प्रश्‍न थियो।

‘हो, त्यसलाई पनि ल्याऊ’, उसले आग्रह गरेझैं भन्यो।

‘हुन्न, राति भयो। राति हुन्न। दिनमा मात्रै हो ऊ त’, युवतीको यो जवाफले फेरि झस्कायो मलाई।

सोध्न मन लाग्यो। कलेज पढ्ने विद्यार्थी यसरी व्यस्त? म आआफैं सोच्दै थिएँ, जँड्याहा फेरि बोल्यो, ‘किन हुँदैन?’

‘हुन्न भने त हुन्‍न’, युवतीको जवाफ आयो।

‘कस्ती उभिन्डी रहिछ। रातमा गर्ने काम दिनमा गर्ने, दिनमा गर्ने काम रातमा गर्ने’, जँड्याहा जोडले खितखितायो।

‘धेरै नहाँस। खिल्ली उढाउनमात्रै आउँछ?’, युवती कड्किँदै बोली, ‘राति आउन पाउँछे त? साथीहरूले थाहा पाइहाल्छन्। दिउँसो त कलेज जान्छे भनेर शंका गर्दैनन्।’

दुवै चुपचाप लागे। जँड्याहा ! उसले केही सोचेजस्तो या त्यसै चुपचाप लागेको अड्कल पनि गर्न भ्याइनँ। केही बेरको मौनतापछि युवतीको आवाज सुनियो।

‘के गरोस् त विचरी। भरखरकी छ। धेरै भ्याउँदिन। घरकाले पनि पैसा दिँदैनन्। घरतिर पनि त्यस्तै छ। अनि आफ्नो खर्च चलाउँछे।’

जँड्याहामात्रै होइन, म पनि रन्थनिएँ।

काठमाडौंले के गर्दैछ?

युवकयुवतीलाई पठनपाठनतिर लगाउँदैछ कि वेश्यावृत्तितिर।

पढ्ने भनेर देशभरिका युवकयुवती यही खाल्डोमा आउँछन्। यो खाल्डोले उम्किन दिँदैन। साउने भ्यागुत्तो खाल्डोमा परेजस्तै छ। यो ठूलो खाल्डोमा भ्यागुत्ताजस्तै मान्छे। उफ्रिन्छन् उफ्रिन्छन् तर बाहिर निस्कन सक्दैनन्। यो खाल्डोले निस्कन पनि त दिँदैन। बाटो पनि छैन। मञ्जुश्रीले यो तलाउ काट्दा बाटो बनाउन बिर्सिएछन्।

(बीएन पुस्तक संसार प्रालिबाट आउने साता प्रकाशन हुने बच्चु विकको उपन्यास ‘फकिर’बाट) अन्नपूर्णबाट


  •  
  •  
  •