काठमाडौं १ भदौ (ओएनएस) :
आज कृष्णअष्ठमी भगवानका रुपमा मानिने श्रीकृष्णको पूजा गरि देशभरी नै मनाइदैछ । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाउने गरिन्छ । ललितपुरको पाटन सहित देशभरकिा कृष्णमन्दिरमा भक्तजनको घुइचो लागेको छ । कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
कंसले कारागारमा बन्दी बनाएको अवस्थामा देवकीबाट कृष्णको जन्म भएको थियो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि विष्णुको मोहित पार्ने शक्तिका कारण कृष्ण जन्मिएका बेलामा सबै सैनिक निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई “नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पु¥याऊ” भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भन्ने गरिएको छ ।
श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरिदिनुभएको थियो । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गर्नुभएको थियो । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश नै श्रीमद्भगवत गीता हो । यसैकारण गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।बाल्यकालदेखि नै विचित्रलीला देखाउँदै आउनुभएका श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलोत्सवका रुपमा समेत मनाउने गरिन्छ ।