बार्गेनिङको भाषामा सिटौलाले भने, ‘एकताको सन्देश दिऊँ’

215
  •  
  •  
  •  

काठमाडौँ, २४ फागुन(ओएनएस) : नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले आफ्नो पराजय पछि महाधिवेशनबाट सबैलाई एकताको सन्देश दिनुपर्ने बताएका छन् ।

सभापति पदका लागि भएको मतदानमा तेस्रो स्थानमा रहेका सिटौलाले पुनः हुने चुनाव अगावै मतदान गर्ने अवस्था सिर्जना गर्न सकिए महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाह हुने भन्दै बार्गेनिङको भाषामा एकताको सन्देश दिनुपर्ने बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘आज दोस्रो चरणको मतदान गर्ने प्रक्रियामा प्रवेश गर्दैछौ । यो अवस्थामा यदि दोस्रो चरणको मतदानमा प्रवेश गर्नु अगावै हिजो व्यक्त मतको समेत सम्मान गर्दै पार्टीभित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न सकियो र मतदान गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाह हुन सक्छ भन्ने मेरो विश्वास छ ।’

उनले विज्ञप्तिमार्फत पार्टीलाई गुटउपगुटमा विभाजित हुनबाट मुक्त गरि एकताबद्ध बनाउन आफ्नो तर्फबाट पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दै अन्य नेताहरूलाई पनि पार्टीको एकताका लागि अग्रसर हुन आव्हान गरेका छन् ।

यस्तै, उनले महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्ने, मतदानमा सहभागी भएर आफूलाई मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधीहरू र आफूहरूलाई शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

विज्ञप्तिमा उनले महाधिवेशनबाट नेतृत्व छनोट गरेर फर्कने क्रममा कुनै पनि गुटमा विभाजित भएको कांग्रेसको रूपमा नभइ एकताबद्ध भएको कांग्रेसको रूपमा फर्कनुपर्ने उल्लेख गरेका छन् । महाधिवेशनमा सहभागी प्रतिनिधी र सम्पूर्ण कांग्रेसको चाहना एकताबद्ध कांग्रेस भएको उनको भनाई छ ।

सम्बन्धित समाचार ः

दोस्रो चुनावमा चासोमा सिटौला, कता ढल्किएलान ?

किन भिडे सिटौला ? यी हुन् पाँच कारण


  •  
  •  
  •