द्वन्द्व चर्काउने प्रयास पटक-पटक भएपनि असफल बनाएका छौं : प्रधानमन्त्री

370
  •  
  •  
  •  

काठमाडौं, १६ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको बताएका छन् ।

रिपोर्टर्स क्लव नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानून निर्माण र संरचना बनाइएको बताए ।

‘समायोजन सहज थिएन, तर सकेका छौं, कानून बनाएका छौं, संविधान कार्यान्वयन गर्ने कानून र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं,’ उनले भने, ‘समृद्ध नेपाल : सुखी नेपालीको सबै आधार तयार भएको छ ।’

समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीको भनाइ छ ।

‘त्यसका लागि लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्न र्गयौं, राष्ट्र एक ठाउमा रह्यो,’ उनले भने, ‘ सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनि दिएका छौं ।’
प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गरे ।

‘हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौं,’ उनले भने, ‘अब देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा छ । एकजुट अवस्थामा छ ।’

प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको भन्दै सकारात्मक सोच राख्न प्रेरित गरे ।

‘सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तान भन्दा पनि सभ्य र सुसंस्कृत समाजका हौं भन्ने भुल्नु हुँदैन, ’ उनले भने, ‘हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुदैन ।’


  •  
  •  
  •