काठमाडौँ, २५ पुस ।
एमालेसहित विपक्षी नौ दलको अवरोध र होहल्लाबीच संविधान संशोधन विधेयक संसद्मा पेस भएको छ । आइतबार बसेको संसद् बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले विधेयक पेस गरेका हुन् ।
संसदीय प्रक्रियाअनुसार टेबल भएको विधेयकमा सैद्धान्तिक छलफल सोमबारबाटै अघि बढ्नेछ । छलफल सकिएपछि सभामुखले विधेयकमाथि संशोधन हाल्न ७२ घन्टाको समय दिनेछिन् । संशोधित विधेयकमाथि पनि दफावार छलफल हुनेछ । त्यसपछि विधायन समितिमा पठाउने कि सदनमै छलफल गरेर टुंग्याउने निर्णय हुनेछ । यी सबै प्रक्रिया सकेर अन्तिममा सिंगै विधेयक पास गर्न कम्तीमा एक महिना समय लाग्छ । अन्तिममा लबी नै छुट्याएर सदनमा मत विभाजनसहित हस्ताक्षर हुनेछ । तर, संविधान कार्यान्वयनको चरण छोटिँदै गएको र निर्वाचन कानुनसँग सम्बन्धित काम पनि गर्नुपर्ने भएकाले सदन छिटो काम गर्नुपर्ने चर्को दबाब संसद्लाई छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संसद् बैठकअगावै अपराह्न दुवै पक्षको ‘सम्मानजनक जित’ हुने बाटोबाट अघि बढ्ने समझदारीअनुसार विधेयक टेबल भएको हो । बैठकको सुरुमा स्थानीय तहको निर्वाचनसँग सम्बन्धित दुई विधेयक टेबल गरेर अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसद्को महाअभियोग सिफारिस समितिमा पठाइसकेपछि मात्रै अन्तिम कार्यसूचीका रूपमा संशोधन विधेयक प्रस्तुत गर्ने तीन शीर्ष नेताहरूबीच समझदारी बनेको थियो ।
उच्च स्रोतका अनुसार सो समझदारीअनुरूप संशोधन विधेयक टेबल अवरोधकै बीचमा अघि बढाउँदा पनि आपत्ति नहुने ओलीले संकेत गरेकै आधारमा प्रक्रिया अघि बढेको थियो । ‘विधेयक टेबल असहमतिबीचको सहमति हो,’ नेताहरूबीचको समझादारीलाई पुष्टि गर्दै माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने, ‘सहमतिका साथ अघि बढ्न ‘ब्रेक थ्रु’ भएको छ ।’ राप्रपा प्रमुख सचेतक दिलनाथ गिरीले पनि शीर्ष नेताहरूबीचको ‘वान टु वान’ छलफलपछि नै अवरोधका बाबजुद प्रक्रिया अघि बढाउने गरी समझदारी भएको संकेत गरे । ‘उहाँहरूबीचको एक्लाएक्लै भेटको परिणामका रूपमा विधेयक टेबल भएको हो, एमालेले पनि सांकेतिक विरोधसहित संसदीय अभ्यासमा उच्चतम राम्रो संस्कृति प्रस्तुत ग¥यो,’ उनले भने ।
पाँच दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले ओलीसँग एक्लाएक्लै छुट्टै छलफलको प्रस्ताव राखेलगत्तै दुई नेताबीच केहीबेर गोप्य कुराकानी भएको थियो । त्यसअघि नै देउवासहित तीनै नेताले सामूहिक रूपमा छलफल गरिसकेका थिए । दुई नेताबीचको गोप्य भेटवार्तालगत्तै सदनमा संशोधन प्रक्रिया अघि बढेको राप्रपाका प्रमुख सचेतक गिरीले जानकारी दिए ।
नयाँ पत्रिकाबाट