काठमाडौं, २६ वैशाख(ओएनएस): प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणका लागि प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको चार्टर विमान ‘एयरबस ए-३२०’ को उडानमार्फत विहिबार त्यसतर्फ प्रस्थान गरेका हुन्। उनको उडानको लागि भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य सम्पूर्ण उडान–अवतरण करिब आधा घण्टा बन्द गरिएको थियो ।
भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा भ्रमणमा निस्कन लागेका ओलीको यो पाँचौ विदेश भ्रमण हो।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी साथै भ्रमण टोलीमा सांसद, सचिव, उपमेयर लगाएत ४२ जना रहेका छन्। भ्रमण टोली जेठ १ गते नेपाल फर्कने कार्यक्रम छ ।