प्रधानमन्त्री ओली र कोइरालाबीच चर्काचर्की

189
  •  
  •  
  •  

Sushil-Koirala-kp-oliकाठमाडौं ८ माघ । संसद्मा विचाराधीन संविधान संशोधन विधेयकप्रति प्रधानमन्त्री केपी ओलीले ‘रिजर्भेसन’ व्यक्त गर्दा संविधानपक्षीय तीन दलका शीर्ष नेताबीच नै चर्काचर्की हुन थालेपछि आन्दोलनरत मधेसी मोर्चा नेतृत्वसहितको बैठक स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकमा संविधान संशोधन विधेयक तत्कालीन सुशील कोइराला सरकारले कसैसँग कुनै सरोकार नराखी ल्याएकाले सहमति हुन अप्ठ्यारो भएको धारणा प्रधानमन्त्री ओलीले राखेका थिए।ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुशीलजी, संशोधन विधेयक किन ल्याउनुभयो? हाम्रै सरकार र तत्कालीन प्रमुख विपक्षी दल एमाओेवादीसँग किन छलफल भएन?’
संसद्मा आएका २४ वटा संशोधन दलको नभएर व्यक्तिको भएकाले त्यस्ता संशोधनप्रति सरकार जिम्मेवार हुनै सक्दैन भन्दै ओलीले आक्रोश व्यक्त गरेका थिए। ‘कसैले आफ्नो वर्चस्व कायम गर्न भन्दै संशोधन ल्याउनुअघि संविधान पारित गर्दा मधेस र मधेसीको हित किन देखेन?’ ओलीले भने।
ओलीको प्रश्नमा आक्रोशित बनेका प्रमुख विपक्षी नेता सुशील कोइरालाले उक्त प्रस्ताव तत्कालीन कांग्रेस-एमाले गठबन्धन सरकारले मन्त्रिपरिष्दबाट निर्णय गराएर ल्याएको जबाफ दिएका थिए।स्रोतले कोइरालाको भनाइ उद्धृत गर्दै भन्यो, ‘मेरो नेतृत्वमा रहेको सरकारका उपप्रधान एवं गृहमन्त्री र एमालेका उपाध्यक्ष वामदेव गौतमसमेतको सक्रियतामा मन्त्रिपरिषद्को निर्णयबाट आएको प्रस्तावलाई आफ्नो सरकार फसाउन कांग्रेसले कसैसँग परामर्श नगरी ल्यायो भन्ने आरोप फिर्ता लिनुहोस् । मुलुकको प्रधानमन्त्रीको पदीय दायित्व र जिम्मेवारीबाहिरको कुरा नगर्नुहोस्।’
बैठकमा प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न गर्दै भने, ‘उपेन्द्रजी भन्नुहोस्, संसद्मा रहेको संशोधन प्रस्तावले समस्या समाधान हुन्छ?’ उपेन्द्रले तत्काल उक्त संशोधनबाट मधेसको माग पूरा नहुने बताएका थिए।
‘प्रमुख तीन दलको सहमतिबाट आएको संशोधन प्रस्तावबाट ओलीजी तपाईं उम्कन पाउनुहुन्न’ भन्दै कोइराला पुनः आक्रोशित भए। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि कांग्रेसले ल्याएको प्रस्ताव परिमार्जनसाथ पारित गर्ने सहमति भएको बताएका थिए।
तीन शीर्ष नेतृत्वबीच चर्काचर्की भएपछि प्रधानमन्त्री ओलीले हतारहतार मोर्चा, सत्ता गठबन्धनकै फोरम लोकतान्त्रिक र राप्रपा (नेपाल) लाई बैठकस्थलबाट बाहिर जान आग्रह गरे।कांग्रेस उपसभापति पौडेलले फोरम लोकतान्त्रिक र राप्रपा नेपाललाई बस्न आग्रह गरे पनि उनीहरू बैठकबाट बाहिरिएका थिए।

 -अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •