काठमाडौँ, १६ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माण महाअभियानमा ढिलाइ भइरहेको भन्दै असन्तुष्टि हुन् ।
पुनःनिर्माण सम्बन्धी गोष्ठीलाई मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्रीले जुन उत्साहका साथ पुनःनिर्माण अभियानको सुरूवात भएको थियो, सोही अनुसार काम हुन नसकेकोप्रति असन्तुष्टी पोखेका हुन् । उनले यही गतिमा पुनःनिर्माणको काम दशकौँसम्म नसकिने भन्दै काम कछुवाको गतिमा भइरहेको उल्लेख गरेका छन् ।
उनले महाभूकम्प आएको बैशाख १२ को पनि अर्को बैशाख १२ आउन लागिसकेको भन्दै एक महिनामा हुनुपर्ने काम १ वर्षमा भएको बताए । उनले विपत ऐन-कानुन हेरेर नआउने भन्दै सोमबार आएको हुरीका कारण जनताले दुःख पाएको बताएका छन् । उनले भने, ‘हिजो बेलुका हुरी चल्दा त्रिपाल उडायो । मानिसहरू आपतमा परे । तर, हामीले रेस्क्यु गर्न सकेनौँ । वर्षा आउन लागिसक्यो । यहि चालले त वर्षामा पनि जनतालाई त्रिपाल मुनी नै राख्नुपर्ने भयो ।’
उनले माघ २ गते उदघाटन गरिएको ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणको काम अहिलेसम्म कति भयो भनेर प्रश्नसमेत उठाएका छन् । ‘रानीपोखरीको काम अहिलेसम्म खै के-के भयो ?’ ओलीले प्रश्न गरे ।
पुन:निर्माणको प्रत्येक दिनको कामबारे जनतालाई जानकारी दिन प्राधिकरणका अधिकारीहरुलाई उनले निर्देशन दिए । पुनर्निर्माणमा अनियमितता र भ्रष्टाचार स्वीकार्य नहुने भन्दै उनले सबै काम पारदर्शी बनाउन निर्देशन दिएका छन् । ‘कति घर बने, कति काम भयो, यति गर्न बाँकी छ भनेर एक-एक दिनको काम जनताले थाहा पाउनुपर्यो,’ उनले भने, ‘रेडियो, टिभी, पत्रिका जेबाट हुन्छ त्यहिबाट जानकारी दिनुस् ।’
गोष्ठीमा भूकम्प प्रभावित जिल्लाका स्थानीय विकास अधिकारीहरु, पुनर्निर्माण प्राधिकरणका कर्मचारीलगायत छन् ।