काठमाडौँ, २७ मंसिर(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीका कारण आफूले सोचेका सबै योजना तथा सपना चकनाचुर भएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रज्ञा पतिष्ठानका प्राज्ञहरूको भेटमा प्रधानमन्त्री ओलीले आफूसँग देश विकासका लागि धेरै योजना भएपनि भारतीय नाकाबन्दीका कारण ती योजना पुरा हुन नसकेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री हुँदा मैले बुनेका सपनाहरू अहिले चकनाचुर भएका छन् ।’
बैशाखको भूकम्प र नाकाबन्दीले नेपाल र नेपालीलाई खर्बौको क्षति पुर्याएको भन्दै उनले अहिलेको क्षति पूर्ति गर्नका लागि नेपाल र नेपालीले लामो समय खर्चनुपर्ने बताएका छन् । देशको अहिलेको समस्याको निकास खोज्न आफूले निरन्तर प्रयास गरिरहेको उनले बताए ।
प्रम ओलीलार्इ भेटेर ज्ञापनपत्र बुझाउँदै प्रज्ञा प्रतिष्ठानको टोलीले प्रज्ञा भवनको मर्मत सम्भारका लागि ३० करोड बजेट उपलब्ध गराउन माग गरेका थिए । यस्तै, प्रज्ञा प्रतिष्ठानको बजेटको आकार बढाउन तथा प्राज्ञहरूको उपचारका लागि अक्षय कोष स्थापना गर्नका लागि बजेटको व्यवस्था गर्न आग्रह गरेका थिए ।
प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा उप्रेतीले कला र संस्कृति जोगाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।