काठमाडौं १५ असोज ।
माले अध्यक्ष केपी शर्मा ओलीले नेपाल मजदुर किसान पार्टीलाई आफ्नो दलको नेतृत्वमा बन्ने भावी सरकारमा आउन आग्रह गरेका छन् ।
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको भक्तपुरको कमलविनायकस्थित निवासमै पुगेर अध्यक्ष ओलीले सरकारमा आउन निम्ता दिएका हुन् ।
ओलीले एमाले अध्यक्ष चुनिएपछि पहिलोपटक निवासमै पुगेर बिजुक्छेसँग बिहीबार भेटवार्ता गरेका हुन् ।
बिजुक्छेले भेट्न एक्लै कमलविनायक पुगेका ओलीले अहिलेको संकट समाधानसँगै जारी संविधान कार्यान्वयन गर्न नेमकिपालाई पनि सरकारमा आउन आग्रह गरेका छन् ।
‘एमाले अध्यक्ष ओलीजीले अहिलेको संकट र जारी संविधान गर्न सँगै मिलेर काम गरौं भन्नुभयो’, भेटपछि सञ्चारकर्मीहरुसँग नेमकिपा अध्यक्ष बिजुक्छेले भने ।
एमाले नेतृत्वमा बन्ने सरकारमा नेमकिपा सहभागी हुन्छ त भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले नेमकिपा सरकारमा सहभागी नहुने बरु देश र जनताको हितमा काम गर्न सरकारलाई सहयोग गर्न सकिने बताए ।
‘ओलीजीले सरकारमा आउन आग्रह गर्नुभएकै हो तर हामी सैद्धान्तिक रुपमा सरकारमा जाँदैनौं’, उनले भने, ‘देश र जनताको हितमा काम गर्न सघाउन सक्छौैं र अहितमा काम गरे विरोध ।’
भेटमा ओलीले संविधान जारी भएपछि एमाले नेतृत्वमा सरकार गठन गर्ने कांगेससँग सहमति भइसकेकोसमेत जानकारी दिएका थिए ।
अध्यक्ष बिजुक्छेका अनुसार एमाले अध्यक्ष ओलीले संविधान जारी भइसकेपछि भारतसँग भएका कुराकानी तथा उनले दिएका जवाफबारे पनि जानकारी गराएका थिए ।
‘ओलीजीले संविधान जारी भएपछि भारतसँग भएका कुराकानी र आफूले दिएको प्रतिक्रियाबारे जानकारी दिनुभयो’, बिजुक्छेले थपे, ‘अहिलेको नाकाबन्दीको अवस्थामा कसरी जाने भन्नेबारे पनि विस्तृत छलफल भयो ।’
उनका अनुसार दुवै नेता भारतको नाकाबन्दीविरुद्ध छन् । यसको दृढताका साथ विरोध गरी चीनबाट पेट्रोलियम पदार्थसँगै अत्यावश्यकीय वस्तु ल्याउनुपर्नेमा समेत दुवै नेता एकमत भएको अध्यक्ष बिजुक्छेले जानकारी दिए ।
भेटका क्रममा एमाले अध्यक्ष ओलीले भारतीय नाकाबन्दीले देश संकटपूर्ण अवस्थामा पुगेकाले त्यसको समाधानबारे छलफल गर्न बिजुक्छेकहाँ आएको जानकारी दिए ।
उनले संविधान असफल पार्न केही तत्व लागिपरेकोसमेत बताए । भारतीय नाकाबन्दीले नेपालका स्कुल÷कलेज, अस्पतालसमेत बन्द हुने स्थितिमा पुगेको ओलीको भनाइ थियो ।
उनले बिजुक्छेलाई आन्दोलनरत मधेसी मोर्चासँग वार्ता र सहमतिको लागि तीन दलले विजयकुमार गच्छदारलाई जिम्मा दिएको र सोहीअनुसार सहमतिको प्रक्रिया अघि बढाइएको जानकारी दिएको बताए ।
भेटमा नेमकिपाका अध्यक्ष बिजुक्छेसँगै पार्टी सचिव सुनिल प्रजापति र केन्द्रीय सदस्य एवं सभासद् प्रेम सुवाल सहभागी थिए ।
अन्नपूर्णपोष्टबाट